संघ र प्रदेश निर्वाचनका लागि २० हजार उम्मेदवार सिफारिस

काठमाडौँ । आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ ।

जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि उम्मेदवार छान्ने पूरै जिम्मा केन्द्रको थाप्लोमा परेको छ । आकांक्षीहरूले ‘लबिइङ’ गरेर शीर्ष नेताहरूलाई थप दबाब सिर्जना गरिरहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मातहत समितिबाट केन्द्रमा बिहीबारसम्म करिब साढे २० हजार नाम सिफारिस भएको छ । सबैभन्दा बढी कांग्रेसमा साढे सात हजारको नाम सिफारिस भएको छ । जबकि दलहरूले प्रतिनिधिसभाको प्रत्यक्षमा १ सय ६५, समानुपातिकमा १ सय १० र प्रदेशसभाको प्रत्यक्षमा ३ सय ३० र समानुपातिकमा २ सय २० गरी अधिकतम ८ सय २५ जनालाई मात्र उम्मेदवार बनाउन सक्छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक उम्मेदवार छनोट गर्न बिहीबार बिहानदेखि नै एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक बैठक बसेको थियो ।

कांग्रेसमा सबैभन्दा बढी नाम वाग्मती प्रदेशबाट सिफारिस भएका छन् । यस प्रदेशमा करिब २ हजार आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा सदस्यमा मात्र करिब साढे तीन सयको दाबी छ । मधेस प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ करिब ४ सयको नाम सिफारिस भएको छ । दुवैतर्फ समानुपातिकमा ६ सयभन्दा बढी नाम सिफारिस छ । ‘इच्छा गर्ने सबैको नाम सम्मानका लागि भए पनि केन्द्रमा पठाइदिएका हौं,’ मधेस प्रदेश कार्यसमितिका सभापति कृष्ण यादवले भने, ‘सूची समानुपातिक समावेशी सिद्धान्तअनुसार नै छ ।’

माओवादी केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचन प्रणालीका लागि जिल्लाबाट सिफारिस भएर करिब ४ हजार ९ सय नाम आएका छन् ।  बुधबार बसेको माओवादीको पार्टी पदाधिकारी बैठकले ०६४ देखि समानुपातिक सदस्य भएकालाई समानुपातिक उम्मेदवारमा नदोहोर्‍याउने, भर्खरै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेकालाई प्राथमिकता नदिने र सूची सम्बन्धित समितिको बैठकले अनिवार्य अनुमोदन गरेको हुनुपर्ने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि जिल्लाबाट १ हजार ८ सय १५ जनाको नाम सिफारिस भएको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि बढीमा ५ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

जसपाले देशभरबाट करिब २५ सय नाम सिफारिस भएर केन्द्रमा आएको जनाएको छ ।