स्वस्थ महिला भए राष्ट्र नै पहिला हुन्छ : डा. केसी

सुर्खेत । डा. नवराज केसीले स्वस्थ महिला भए राष्ट्र नै सबल हुने बताएका छन् । बुधबार  ‘निर्भीक नारी’ को पहिलो सत्र ‘स्वस्थ महिला, सबैभन्दा पहिला’ मा आफ्ना कुरा राख्दै डा. केसीले स्वस्थ महिला भए महिला मात्र पहिला नभएर राष्ट्र नै पहिला हुने बताएका हुन् ।

उनले आफू सुरुमा बच्चाको डाक्टरजस्तो मात्र लागे पनि कर्णालीका दूरदराजमा खटिँदा आमाहरूको पनि डाक्टर भएजस्तो लागेको बताए । उनले भने, ‘सुरुमा आफू म बच्चाको डाक्टरजस्तो लाग्थ्यो, अहिले आमाहरूको डाक्टर पनि हो कि जस्तो लाग्छ।’ त्यस्तै उनले आमाहरूमै पोषणको कमी भएकाले बालबालिकामा कुपोषण देखिएको बताए ।

पछिल्लो समय राम्रो समीक्षा पाइरहेको ‘शून्यको मूल्य’ का पुस्तकका लेखकसमेत रहेका डा. केसीले भने, ‘५१ प्रतिशत आमाहरू कुपोषित भएकाले ४९ प्रतिशत बालबालिका कुपोषित छन् । स्वस्थ महिला भए महिला मात्र पहिला हुँदैनन् राष्ट्र नै पहिला हुन्छ ।’

कर्णालीका आम मानिसहरूले उपचार गराउने क्रममा भोग्नु परेका दु:ख र संघर्ष पुस्तकमा समेटिएको छ । डा. केसीले ‘सिर्जनात्मक गैर आख्यान’ भन्ने गरेको पुस्तक उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै लेखेको बताए । केही रुपान्तरकारी प्राध्यापकहरूको भेटले आफूले पुस्तक लेख्न सकेको उनको भनाइ छ ।

कोभिड महामारीका क्रममा महिलाहरूका कारण धेरै बिरामी निको भएको उनको भनाइ छ । ‘हाम्रो समाजमा जति पनि कोभिडले बुवाआमा बित्नुभयो, उहाँहरू डाक्टरको कमीले होइन । छोरीहरूको कमीले बित्नु भएको हो । छोरीहरूले बिरामीको निकै हेरचाह गरे । डाक्टरहरूले नभ्याए केही महिलाहरूले आफ्ना अभिभावक बचाएको मैले देखेको छु,’ उनले भने।

अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको डा. कसीको भनाइ छ । डा. केसीका अनुसार बिरामीहरूका समस्या सुनेर सुरुमा केही छोटा कथा लेखेको तर पर्याप्त नभएपछि फेरि खोजी गरेर पुस्तक तयार पारिएको हो ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा करिब आठ वर्ष काम गरेका केसीले ‘शून्यको मूल्य’मा बिरामीहरुले जीवनयापनको क्रममा गरेका संघर्ष सिर्जनात्मक रुपमा उतारेका छन् ।

  • साभार : कान्तिपुर दैनिकबाट