- गेहेन्द्रप्रसाद दाहाल
पढ्नु भनेको के हो ?
पढ्नु भनेको ज्ञान लिनुका साथै कुनै पनि विषयवस्तुबारे आफ्नो धारणा बनाउने काम हो । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरूको भलोमा आफू रमाउनु हो । पढ्नु भनेको हाम्रो प्रकृति, हाम्रो समाज, विश्व ब्रह्माण्डको नियम थाहा पाउनु हो ।
यदि नियम थाहा पाउन सकिए त्यसलाई स्वरूप परिवर्तन गरेर मानवीय हितमा लगाउन सकिन्छ । पढेर नै विभिन्न विज्ञानका सिद्धान्तहरू पत्ता लागेका हुन् । पढ्नु भनेको विभिन्न कला सिक्नु पनि हो । जीवनको लक्ष्य खोज्नु पनि पढ्नु नै हो ।
के पढ्ने ?
पढ्नु पर्छ भन्ने सबैलाई थाहा छ । तर, के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन । जे मिल्छ त्यही पढ्नु पर्छ । पढाउने विषय र पाठसँग सम्बन्धित पुस्तक त पढ्नै पर्छ । साथै, शिक्षकले उपलब्ध भएसम्म र पाएसम्मका पुस्तक पढ्नु पर्छ । एक–एक वटा किताब पढ्नु पर्छ ।
नसके पनि महिनामा एउटा त अवश्य पढ्नै पर्छ । किनेर, खोजेर, मागेर, सापट लिएर, पुस्तकालयमा गएर भए पनि शिक्षकले पढ्न चाहिँ पढ्नै पर्छ । पाएका किताब र पत्रपत्रिका केही छोड्नु हुँदैन । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । शिक्षकलाई दुवै चाहिन्छ ।
पढेर के हुन्छ ?
पढाइ भनेको आदर्श व्यक्तित्व जन्माउने प्रक्रिया हो । असल–खराब छुट्याउन सक्ने विवेक दिने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्शमा परिणत गर्ने, मानवता र नैतिकताको प्रस्फुटन एवं इच्छानुरुपको प्रतिभा विकास गराउने काम पढाइबाट नै हुने गर्छ । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै पढाइ हो । मानिस पढेरै असल र महान् भएका हुन् ।
मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाक पटुताले हो । पढाइको विकल्प यो संसारमा मात्रै होइन पूरा ब्रह्माण्डमा नै छैन । त्यसैले निरन्तर पढिरहन आवश्यक छ । शिक्षकले त अझ बढी पढ्न आवश्यक छ ।
शिक्षकले किन पढ्ने ?
शिक्षकको काम नयाँ कुरा सिकाउने हो त्यसका लागि पढ्नु पर्छ । नपढ्नेले सिकाउन त सक्दैन नै, आफू पनि सिक्न सक्दैन । त्यसैले पनि शिक्षकहरूले निरन्तर पढिरहनु पर्छ । शिक्षकले आफू पढेर आफ्ना विद्यार्थीहरूलाई पनि पढ्ने प्रेरणा दिनु पर्छ । पढ्ने र नपढ्ने शिक्षक विद्यार्थीले टाढैबाट चिन्छन् । भनिन्छ, संसारले नपढेको कुरा शिक्षकले पढ्नु पर्छ । शिक्षकले प्रत्येक दिन, प्रत्येक साता र प्रत्येक महिना नयाँ कुरा पढ्नु पर्छ । शिक्षक समाज र देशका अगुवा हुन्, त्यसैले पनि भनिन्छ शिक्षकले पढे देश जान्ने हुन्छ ।
तर, हामी सरकारी शिक्षकहरूमा जागिरे मानसिकता बोकेर विद्यालय जान्छौँ । विद्यार्थीसँग भेटघाट गर्ने र सन्चो–बिसन्चो थाहा पाउने अनि वर्ष दिनको कोर्स छिट्टो कसरी सक्ने भन्ने हाम्रो ध्याउन्न हुन्छ । हामी शिक्षक ‘शिक्षक’ भएको बिसौँ वर्ष अगाडिको पढाइले हो । अब त्यो पढाइले अहिलेको पढाइलाई धान्न सक्छ कि सक्दैन रु किनकि, विकसित सञ्चार–साधनहरूका कारण आजका बालबालिकाका ज्ञानको परिधि पहिलेका तुलनामा स्वतः चौडा हुन पुगेको छ । उनीहरूका आवश्यकता र प्राथमिकता पनि फेरिएका छन् ।
दिनदिनै बदलिएको शिक्षा र खोजिएका ज्ञानसँग हाम्रो शिक्षा मेल खान्छ कि खाँदैन ? आफैँले आफैँसँग प्रश्न गर्न आवश्यक छ । यदि हामीले लिएको शिक्षाले अहिलेका विद्यार्थीलाई राम्ररी सिकाउन सक्दैनौँ भने आफ्नो क्षमता बढाउन हामीले पनि पढ्नुको विकल्प बाँकी रहँदैन ।
हामी आजको युगलाई चाहिएको बच्चाको चाहना र परिवर्तित युगमा बाँच्न सक्ने ज्ञान दिन सक्षम छौँ कि छैनौँ भन्ने विश्लेषण गर्दै विगतको समयमा बाँच्नका लागि लिएको शिक्षाले वर्तमानमा बच्चालाई बाँच्न सक्षम बनाउन सक्छ कि सक्दैन रु गम्भीर प्रश्न हामी तमाम शिक्षकहरूमा तेर्सिएको छ । हामीले शिक्षक कसका लागि हौँ रु जागिरका लागि, आफ्ना लागि, सरकारका लागि वा बच्चाका लागि सोच्ने बेला आइसकेको छ । यदि जागिर खाएर कमाउनका लागि मात्रै शिक्षण पेसा रोजिएको हो भने अन्य विकल्प रोज्दा वेश हुन्छ । धेरै कमाइ अन्तै छ ।
के पढाउने ?
शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तक मात्रै रटाउनु भनेको शिक्षण पेसाप्रतिकै बेइमानी हो । विद्यार्थीप्रति गरेको अपराध हो । पाठ्यपुस्तक शिक्षकहरूका लागि होइन, विद्यार्थीका निम्ति हो । शिक्षकले विद्यार्थीलाई दुनियाँ पढाउनु पर्छ । भौतिक, आध्यात्मिक, राजनीति, सामाजिक मूल्य–मान्यता, नैतिकता, सीप, संस्कार, भूगोल आदिबारे ज्ञान दिन आवश्यक छ ।
ज्ञान एउटा पुस्तकमा मात्र अटाउने कुरा होइन । त्यसैले धेरै पुस्तक पढेर धेरै थरीकै ज्ञान दिने गर्नु पर्छ । शिक्षक आफूले पढ्दाको र पास हुँदाको ज्ञान धेरै पुरानो र बोधो भइसकेको हुन्छ, पहिल्यै सिकेका कुराहरू भुलिसकिएको र सम्झे पनि खिया लागिसकेको हुन्छ । सोको अद्यावधिक र ज्ञानलाई समयानुकूल नवीकरण गर्न पनि नियमित पढ्न आवश्यक छ । हामी शिक्षक कक्षाकोठामा प्रवेश गर्दा उत्साही, दृढ मत भएका, अनुशासित, आफ्नो विषयका ज्ञाता, विनोदी साथै सहज बन्न आवश्यक छ ।
कसरी पढाउने ?
कक्षाकोठामा पस्नुभन्दा पहिले शिक्षकले तयारी गर्न आवश्यक छ । यो सिकाउँछु, यति सिकाउँछु, यसरी सिकाउँछु यो क्रियाकलाप गर्छु भन्ने पूर्व तयारी गर्न आवश्यक छ । हामी शिक्षकहरू धेरै वर्ष पडाइसकेँ भनेर विना तयारी कक्षाकोठामा प्रवेश गर्छौँ ।
विद्यार्थी भने अहिलेका विभिन्न सूचना सामग्रीका कारणले हामीले दिएका शिक्षाले नअघाउने भइसकेका छन् । आफैँ मद्यपान गर्ने विद्यार्थीलाई भने स्वास्थ्य पढाउने, गाउँमा झै–झगडा गर्ने र विद्यार्थीलाई सामाजिक पढाउने, पाँच जना सन्तान जन्माउने अनि जनसङ्ख्याको महत्त्व पढाउने गरे के हुन्छ रु हामी शिक्षक जीवन्त प्रतिमा हौँ जोसँग विद्यार्थीले तादात्म्य स्थापित गर्छन् र साथै हामीसँग आफ्नो तुलना पनि गर्छन् ।
त्यसैले पहिले हामी शिक्षक जस्तै बन्न आवश्यक छ । संसार परिवर्तनशील छ । ज्ञान र सीपको दायरा पनि फराकिलो बन्दै गइरहेकाले समयानुकूल नयाँ तथ्यहरूको धारणा दिन तथ्य सूचना विद्यार्थीलाई उपलब्ध गराउन, तथ्याङ्कहरूको अध्यापनको सजिलोको लागि पनि शिक्षकले पढ्नै पर्छ । आवश्यक अध्ययन र तयारी पछि मात्रै शिक्षक विद्यार्थीमाझ प्रस्तुत हुन आवश्यक छ । हामी शिक्षण प्रक्रियालाई नै यस्तो बनाउन सक्नु पर्छ ।
जसबाट विद्यार्थीले पढ्दा स्वयं आनन्दको अनुभूति गरोस् र त्यसमा तल्लीन हुन पुगोस् । कक्षामा विद्यार्थीहरूले सोध्ने उत्तरहरूको पूर्व तयारी, पाठ शीर्षक अनुरूप शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको पूर्व तयारीका लागि विद्यार्थीले भन्दा शिक्षकले धेरै पढ्नु पर्छ । शिक्षक आफैँमा सिङ्गो पाठ्यक्रम हो । त्यसैले, शिक्षकमा सबै खाले ज्ञान र सूचना हुन आवश्यक छ ।
सन्दर्भ–सामग्री, सबै खाले पुस्तकहरू, पत्रपत्रिका, अनुसन्धानहरूसँगै इन्टरनेटमा खोजेर नयाँ कुरा विद्यार्थीसम्म लग्नु आवश्यक छ । हामी बिस वर्ष अगाडि जसरी पढाइरहेका थियौँ, त्यसरी नै पढाइरहेका छौँ । जस्तो व्यवहार गरिरहेका थियौँ, अहिले पनि त्यस्तै गरिरहेका छौँ । आफू घरमा केही नपढीकन जाने अनि विद्यालयमा गएर तैँले पढिनस् भन्नु कति जायज होला ?
- केन्द्रबिन्दुबाट सभार
कर्णाली टुडे । २९ मंसिर २०८०, शुक्रबार २०:१७