गर्भको बच्चाको बुबालाई चिठी-मेरो आमाको ख्याल गर्दिनु न ल!

पेशाले चिकित्सक डा.नवराज केसी समाजसेवामा पनि तल्लीन छन्। कर्णालीका दुर्गम भेगमा स्वास्थ्य शिविर आयोजना गरिरहने डा. केसी गाउँमा भेटेका पात्रका कथा पनि लेख्ने गर्छन्। यही क्रममा कर्णालीमा भेटिएका केही पात्रका भोगाइ र जीवन बाँकी देशलाई पनि सुनाउनुपर्छ भन्ने लागेर किताब लेखेका छन्, शून्यको मूल्य।

यसमा उनले कर्णालीका आमाहरूले भोगेको गम्भीर स्वास्थ्य समस्यालाई आख्यान शैलीमा प्रस्तुत गरेका छन्।

भर्खरै शून्यको मूल्य किताब आएको छ। यो किताब पढ्दा त साह्रै भावुक मान्छे जस्तो लाग्नुहुन्छ?

मलाई पनि कहिलेकाहीं त्यस्तै लाग्छ। मेरो बल भन्नु नै भावुकता हो। म भावनात्मक रूपले कमजोर होइन, बलियो छु जस्तो लाग्छ।

तपाईंका साथीभाइका अनुसार, अलिकति ब्यांकमा पैसा जम्मा भयो कि तपाईंलाई छटपटी हुन्छ रे! आफूले पाउने दुर्गम भत्ताले किसानको ऋण तिर्ने तथा दूरदराजमा स्वास्थ्य शिविर सञ्चालन गर्नुहुन्छ। यसरी सेवा गर्न के कुराले प्रेरित गर्छ?

मेराे बुबा गाउँको विद्यालयमा प्राचार्य हुनुहुन्थ्यो। उहाँले घरको तल्लो तलामा दुर्गमबाट आएका विद्यार्थीलाई निःशुल्क बसाउनुहुन्थ्यो। त्यसले गर्दा दुर्गमका विद्यार्थीले सहज रूपमा पढ्न पाएका थिए। बुबा दयालु, इमानदार र समाजसेवी पनि हुनुहुन्थ्यो।

मानिस जन्मेको पहिलो सात-आठ वर्षमा कस्तो जीवन बितायो भन्ने कुराले उसको जीवनभर प्रभाव पर्छ। किनकि, मान्छेको जीवन जिउने भावनात्मक विकास त्यही वेला भइसक्छ। यसो पछाडि फर्केर हेर्दा म यस्तो हुनुको कारण मेरो हुर्काइ हो कि जस्तो लाग्छ।

आफ्नै क्षेत्रमा गएर काम गरिरहनुभएको छ। त्यही ठाउँको कथा लिएर किताब पनि लेख्नुभयो। यो संयोग मात्रै हो कि रोजाइ हो?

यसलाई जीवन भोगाइ भनूँ। विदेशबाट फर्किएर नेपालमै काम गर्नुको कारण बुबाको मृत्युसँग पनि जोडिएको छ। बुबाले अन्तिम वेलामा ‘आमालाई हेरेस् है’ भन्नुभएको थियो। विदेशमा या नेपालको शहरी क्षेत्रमा काम गरेको भए आमासँगै हुन सक्दिनथें। त्यसैले आफू जन्मिएको ठाउँ सुर्खेतमै काम गर्ने निधो गरें।

यसबीचमा बिरामी हेर्दै गएपछि के कुरा थाहा भयो भने हाम्रो पढाइले विद्यावारिधिको प्रमाणपत्र मात्र दिने रहेछ। खास विद्यावारिधि त हाम्रो समाजले सिकाउँदो रहेछ। हामीलाई पढाउने प्राध्यापकहरू कपाल फुलेका र कोट लगाएका मात्र नहुने रहेछन्, कहिलेकाहीं सेवा लिन खाली खुट्टा, हाफ-प्यान्टमा खरका डोरीले बाँधेर आएका पनि हाम्रा प्राध्यापक हुने रहेछन्।

उपचारका क्रममा भेटेका पात्रले समाज, इतिहास, भूगोल, अर्थशास्त्र र राजनीति सिकाए। समाज र यहाँका पात्रसँग नजिक भएँ। अहिलेको समाजको वास्तविक कथा भावी पुस्ताले पनि थाहा पाऊन् भनेर यो कथा लेखेको हुँ।

किताबको नाम शून्यको मूल्य राख्नुको कारण के हो?

मान्छे आजभन्दा १२ हजार वर्षभन्दा अघि जहाँ भेट्यो, त्यही सुत्थ्यो। जे भेट्यो त्यही खान्थ्यो। त्यति वेला मानिसले बस्ती बसाल्न सकेको थिएन। १२ हजार वर्षअघि मान्छेले विभिन्न खाद्यान्नको बीउ राख्न जान्यो। जनावरको पनि ‘ब्रिडिङ’ गर्न जान्यो। जीवजन्तुसँगै बोटविरुवाको पनि ब्रिडिङ गर्‍यो, तर एउटा मात्रै जीवित प्राणीको बीउ राख्न, सिञ्चित गर्न, मल हाल्न सिकेन। त्यो हो- मान्छेको बीउ।

मान्छेको बीउ भनेको आमाको गर्भमा भएको अण्डाशय र माटो भनेको आमाको गर्भ हो। त्यस्तै, सि‌ंचाइ र मल हाल्ने भनेको गर्भवती महिला र गर्भवती हुनुभन्दा अघिको परिस्थितिलाई शारीरिक, मानसिक, सामाजिक र आद्यात्मिक रूपले सन्तुलित बनाएर राख्न लगानी गर्नु हो। तर, यसो गर्दैनौं। यसो गरेको हुन्थ्यो भने यति वेला पृथ्वीका सबै मानिस ६ फिटभन्दा अग्ला हुन्थे। सबै जना सय वर्ष बाँच्थे। झगडा गर्दैनथे, सहनशील हुन्थे। एकअर्कालाई सहयोग गर्थे।

यी सबै कुराको जरो आमाको गर्भमा छ। जसलाई हामीले शून्य भनिरहेका छौं, त्यो अमूल्य छ। पुस्तकमा गर्भवती हुनुअघि र पछि आमालाई केकति लगानी गर्नुपर्छ र त्यसको महत्त्व के हुन्छ भन्ने उल्लेख छ। मान्छेले अन्य कुराको बीउ राम्रोसँग राखिरहेको छ, तर मान्छेको बीउ राम्रोसँग राखेको छैन। आफ्नो बीउ राम्रोसँग राख र स्याहार गर, किनकि हामीले शून्य भनेको कुरा अमूल्य छ भन्ने अर्थमा पुस्तकको नाम यस्तो रहन गएको हो।

उपचार गर्दा भेटेका पात्र मार्फत कर्णालीको समग्र स्वास्थ्य अवस्थाको कथा भन्नुभएको छ। यसको शुरूआत कसरी भयो ?

केही वर्षअघि एउटा बिरामीलाई डिस्चार्ज गर्दै थिए। उनलाई मैले ‘कहिले घर पुग्नुहुन्छ’ भनेर सोधें। उनले भने, ‘एक महीना लाग्छ।’ किन भनेर सोध्दा ‘घरबाट लिएर आएको पैसा सबै उपचार खर्चमा सकियो। घर जाने भाडा कमाउनु छ’ भनेर जवाफ दिए। गोठमा भएका सबै भेडा बेचेर उपचार गराउन सुर्खेत आएका रहेछन्।

त्यसपछि इमर्जेन्सीमा रहेकी उनकी श्रीमतीको अवस्था सम्झेपछि मलाई भाउन्न भयो। त्यो घटनाले मलाई ठूलो पाठ सिकायो। यो कथाबाट समाजले के सिक्न सक्छ, कर्णाली र यो देशको स्वास्थ्य प्रणालीले के सिक्न सक्छ भनेर देखाउन मन लाग्यो।

तिनको घर नजिकै एकदम राम्रो स्वास्थ्य चौकी भए, त्यहीं उपचार हुन्थ्यो। तर, स्वास्थ्य चौकीको कमजोरीको कारणले गर्दा हेलिकोप्टर भाडामा लिएर मुगुबाट सुर्खेत आउनुपर्‍यो। गोठका सबै भेडा बेचेर उपचार खर्च तिर्दा पनि घर जाने वेला पैसा भएन।

विश्व स्वास्थ्य संगठनले एक वाक्यमा ‘नेपालको स्वास्थ्य प्रणालीमा टाउकोले भुइँतिर टेकेको छ’ भनेर लेखेको छ। बिरामी गाउँतिर छन्, तर बिरामीलाई चाहिने प्राथमिक उपचार दिने स्वास्थ्य चौकी कमजोर छन्। स्वास्थ्य संगठनले ‘स्वास्थ्य चौकीको उत्थान गर है’ भनेको छ। तर, सरकारले स्वास्थ्य चौकी केन्द्रित कार्यक्रम ल्याएको देखिन्न। स्वास्थ्य चौकीमा जो बिरामी उपचार गर्न जान्छन्, उनीहरू ‘शून्य इकोनोमी’ मा बाँचिरहेका छन्।

‘शून्य इकोनोमी’ भन्नाले तपाईं वर्षभरि जति खानुहुन्छ, जति लाउनुहुन्छ, त्यति मात्र कमाउनुहुन्छ। एक पटक घरमा कोही बिरामी भयो भने ‘इकोनोमी’ शून्यबाट माइनसतिर जान्छ। स्वास्थ्य चौकीमा राम्रो बनाउने हो भने करीब ७० प्रतिशत बिरामीको ‘इकोनोमी’ शून्यबाट माइनसतिर जाँदैनथ्यो। बिरामी पर्दा मानिस बिरामी मात्रै होस्, गरीब नहोस् भन्ने कुरा बुझाउन यो किताब लेखेको हुँ।

विद्यार्थी भएर देखेको कर्णाली र डाक्टर भएर हेर्दाको कर्णालीमा के फरक रहेछ?

विद्यालय भनेको समाजको पहिलो ढोका हो भने अस्पताल अन्तिम पाइला हो। मानिसहरू अस्पतालमा त्यति वेला पुग्छन्, जब सबै चिज रित्तिन थाल्छ। जस्तो कि, कसैको जीवन रित्तिन थाल्छ, कसैको उपचार गराउँदा गराउँदै पैसा। अस्पतालमा उपचार गर्ने र गराउनेको मात्र भेट नहुने रहेछ, गहिरिएर हेर्‍यो भने समाजको अध्ययन पनि हुँदो रहेछ।

समाजबारे सिक्न विद्यालय गइएको थियो, अस्पतालमा काम गर्दै जाँदा समाज बुझियो। विद्यालयमा समाज बुझ्ने यात्राको शुरूआत हुन्छ भने अस्पतालमा समाज बुझ्ने यात्रा पूरा हुन्छ। म चिकित्सक भएकाले अस्पतालको उदाहरण दिएँ। हरेक मान्छेले आफ्नै पेशाबाट जीवन र समाज बुझ्छ।

किताबमा उल्लेख भएका घटना र पात्र पास्तविक हुन्, तर प्रस्तुति काल्पनिक जस्तो छ। गैरआख्यान पुस्तकको प्रस्तुति आख्यानको जस्तो किन बनाउनुभयो?

मैले कथाहरू लेखेर प्रतिक्रियाका लागि साथीहरूलाई दिंदा उनीहरूले ‘कथा अलिक खल्लो भयो, जस्ताको तस्तै नराख्नु’ भन्ने किसिमको प्रतिक्रिया दिए। एउटा पात्रलाई भेटेपछिको संवादलाई मात्र किताबमा राख्दा लेखकको आफ्नै कामना पूरा नहुने रहेछ। किनकि, उसलाई भेट्दा लेखकको मनमा भूकम्प गएको छ, ऐंठन परेको छ। पात्र भेट्दा लेखकले महसूस गरेको भूकम्प पाठकले पनि महसूस गरून् भनेर प्रस्तुतिलाई अलिक भिन्न बनाएको हुँ। आफूले भेटेको पात्रको फोटो खिच्ने कि पेन्टिङ गर्ने भनेर एउटा छान्नुपर्दा मैले पेन्टिङ छानें।

आफैंले पढ्दा अलिकति अस्वाभाविक भयो कि भन्ने लागेन?

साथीभाइको प्रतिक्रिया अनुरूप धेरै पटक पुनर्लेखन गरें। पुनर्लेखन गर्दा अस्वाभाविक भन्दा पनि रसिलो लाग्यो। एउटा लेखकले इतिहास लेख्ने कि एउटा पात्र मार्फत समाज देखाउने भन्ने कुराको निर्णय लिनुपर्ने रहेछ। मैले ‘क्रियटिभ-नन्‌‌फिक्शन’ विधा मार्फत कर्णालीको कहालीलाग्दो स्वास्थ्य अवस्थाको कथा भनें।

धेरै लेखकहरू लेख्ने काम अत्यन्त गाह्रो भन्छन्। एउटा चिकित्सकका लागि लेखन कर्म कस्तो रहेछ?

यो किताब योजना बनाएर लेखेको हुँ। कामको दौरान विभिन्न पात्रहरू भेटेपछि उनीहरूको कथा मसँग मात्र रहनु हुँदैन भन्ने लाग्यो, र किताब लेख्ने सोच बनाएँ। तर, कुन विधामा लेख्ने भन्ने दोधार थियो। त्यही वेला एक जना साथीले ‘क्रियटिभ नन्‌फिक्शन’ विधामा लेख्नु भनेर केही किताब पढ्न दिए। ती किताब पढेपछि मलाई पनि गैरआख्यान पनि आख्यान जस्तो चाखलाग्दो तरीकाले लेख्न सकिने रहेछ भन्ने महसूस भयो। तर, मसँग शब्द भण्डारको अभाव थियो।

आफ्नो शब्द भण्डार बढाउन धेरै किताब पढ्न थालें। पढ्दै गर्दा चाख लागेका शब्द टिप्थें। लेख्न शुरू गरे पनि हात छिटो सरेको थिएनँ। एक पाना लेखेपछि धेरै साथीभाइलाई देखाएर उनीहरूको प्रतिक्रिया अनुसार अघि बढ्थें। मेरो विचारमा पुस्तक लेख्नु सजिलो र गाह्रोभन्दा पनि यो आफैंमा एउटा यात्रा जस्तो रहेछ।

गर्भमा रहेको बच्चाले बुबालाई लेखेको चिठीको प्रसङ्ग किताबमा उल्लेख गर्नुभएको छ। त्यसको पृष्ठभूमि बताइदिनुस् न।

नेपालमा गर्भवती महिलाप्रति गर्ने सामाजिक र पारिवारिक लगानी कम छ। अनि गर्भवती महिलामाथि हुने हिंसा धेरै छ। अस्पतालमा एक जना महिला श्रीमान्‌ले पेटमा लात्ताले हानेकाले गर्भको बच्चालाई असर गर्‍यो कि भनेर जँचाउन आइन्। सबै कुरा बुझेपछि श्रीमान्‌लाई दिनु भनेर चिठी लेखेर पठाएँ। ती महिला गएको दुई-तीन दिनपछि खुशी हुँदै आएर भनिन्- “डाक्साब चिठीमा के लेख्नुभएको थियो? मेरो श्रीमान् त पूरै बदलिनुभयो।”

वर्षौंदेखि राति राति रक्सी खाएर कुट्ने श्रीमान् चिठी पढेर एकाएक बदलिएको देख्दा उनलाई अचम्म लागेछ। मैले त्यो चिठी मेरो र अस्पतालको तर्फबाट नभएर ती महिलाको गर्भमा रहेको बच्चाका तर्फबाट लेखेको थिएँ।

चिठीमा यस्तो लेखिएको थियो-

प्रिय बुवा, सञ्चै हुनुहुन्छ?

म अहिले आमाको गर्भमा छु। खुब आनन्दमा छु। खेल्छु, सुत्छु, रमाउँछु। तर, म आतुर पनि छु। मेरो बुवालाई भेट्न। उहाँको काखमा खेल्न। उहाँको हात समाएर स्कूल जान। अनि बुवाको काँधमा चढेर दुनियाँ घुम्न। मलाई थाहा छ, म बुवालाई भेट्न जति आतुर छु, तपाई पनि त्यति नै व्यग्र हुनुहुन्छ भनेर। म जति हजुरलाई माया गर्छु, हजुर पनि त्यति नै माया गर्नुहुन्छ भनेर।

तर, मेरो प्यारो बुवा! 

जब बेलुकापख हुन्छ, कसैले मेरो टाउकोमा आमाको पेट बाहिरबाट जोडले हान्छ। मेरो घाटी समातेको जस्तो गरि निचोर्छ। मलाई मार्न-मार्न खोजेको जस्तो लाग्छ, बुवा। मेरो आमाको पेट र मेरो आमाको शरीर म बस्ने र हुर्कने घर हो। त्यहाँ चोट पुग्दा मलाई त्यस्तो महशुस हुनुपर्छ। तर, म पनि ढुक्क छु त्यो सबै मेरो बुवाले हेर्नुहुन्छ भनेर। मेरो बुवा हुँदाहुँदै म बस्ने घर र मेरो आमालाई कसले छुन सक्ला र? म विस्वासै गर्न सक्दिनँ।

मेरो प्यारो बुवा!

मेरो घर भत्कन नदिन मेरो आमाको ख्याल गर्दिनु न ल। नत्र त म मर्छु, फेरि अनि हाम्रो भेट कहिल्लै हुन्न्।

तपाईको प्यारो सन्तान्।

यस्तो चिठी पढेपछि उनको श्रीमान्‌को मन पग्लिएछ। यो किताबमा त्यो जोडीको कथा छ। यो चिठीबारे थाहा पाएपछि ती श्रीमान् अलिकति रिसाए पनि। तर, नाम नराखेको भएर त्यस्तो समस्या भएन।

किताबमा धेरै बेनामे पात्रहरूबारे चर्चा छ। मानिस कसरी बेनामे हुँदा रहेछन् ?

यस्ता बेनामे पात्र देशभर छन्। सानोमा स्कूल जान नपाएकाले गर्दा उनीहरूको त्यस्तो कुनै नाम नै जुराइएन। परिवारले र समाजले काली, लाटी अथवा यस्तै कुनै नामले बोलाए। बिहे गरेपछि पनि फलानोकी श्रीमती वा फलानोकी आमा भनेर बोलाए। मानिसले आफ्नो नाम भुल्न सक्ने अवस्था धेरै छ। यस्तै यस्तै अवस्थाले मानिस बेनामे हुन्छन्।

अब प्रसङ्ग बदलौं। मान्छेले किताब किन पढ्छ होला, तपाईं किन पढ्नुहुन्छ ?

पहिलो र दोस्रो विश्वयुद्धमा धेरै मान्छे मरे। अहिले मान्छेले मान्छेलाई त मारेको छैनन्, तर आफैंले आफैंलाई मार्ने क्रम बढेको छ। आत्महत्याको संख्या विश्वयुद्धमा मरेका भन्दा पनि द्रुत गतिले बढ्दै छ।

त्यस्तै, चेतना मार्ने काम पनि बढेको छ। अहिले हामी मोबाइल स्क्रोल गर्दागर्दै दिन बिताउँछौं। अनि पछि दिनभरि केही सिकिएन भन्ने थाहा हुन्छ। मेरो विचारमा अब आउने पुस्ताले धेरैभन्दा धेरै किताब पढेन भने आफैंले आफैंलाई मार्ने काम बढ्छ। आफैंले आफैंलाई र आफ्नो समाजलाई बुझ्न धेरै किताब पढ्नुपर्छ।

विविध पेशा-व्यवसायमा लागेका मान्छेले आफ्नो पेशा-व्यवसायबारे दक्षता हाँसिल गर्दा हुँदैन र! किन समाज बुझ्नुपर्छ?

समाजको अध्ययन गरिसकेपछि मात्रै हरेक अध्ययन पूरा हुन्छ। एउटा मात्र विधाको पढाइले त्यो विधा पनि अपूरो रहन्छ। चिकित्सा विज्ञान पढेर मात्र बिरामीको उपचार गर्न सकिन्न। किनकि, एउटा डाक्टरले समाज र त्यसको अर्थव्यवस्था पनि बुझ्नुपर्छ।

एउटा उदाहरणः एक जना महिला एउटा सानो बच्चा लिएर आइन्। उपचारको क्रममा बच्चाको मुटुमा प्वाल परेको पत्ता लाग्यो र थप उपचारको लागि ‘रेफर’ गरियो। ती महिलासँग एक वर्षपछि फेरि भेट भयो। तर, मैले चिन्नै सकिनँ। किनकि, ती महिला शुरूमा आउँदा गहनाले सजिएर आउनुभएको थियो, दोस्रो पटक भेट्दा बाटोमा माग्न बसेका मान्छे जस्तो देखिनुभएको थियो। त्यस्तो किन भएछ त भन्दा बच्चाको उपचारका लागि विभिन्न ठाउँमा पटक पटक धाउँदा धेरै खर्च भएछ।  यदि चिकित्सा विज्ञान मात्रै अध्ययन गरेर समाजको अध्ययन नगर्ने हो भने यस्तै हुन्छ।

अब अर्को पटक त्यस्तै केस आयो भने पहिले जस्तो प्रकारको उपचार गरेको थिएँ, अब त्यस्तै उपचार गर्दिनँ। अब म उसलाई आफ्नो नम्बर दिन्छु, ताकि केही समस्या पर्दा उसले फोन गरेर सुझाव लियोस्। उसको खर्च कसरी कम गर्ने भनेर पनि सिकाउँछु। त्यही भएर कुनै पनि पेशामा लागेको मान्छेले सोझो पेशाको अध्ययन गरेर मात्रै हुँदैन। उसले समाजको अध्ययन गर्नुपर्छ। समाजको अध्ययन गर्दा नै उसले आफ्नो पेशा र आफूलाई बुझ्छ। त्यसैले समाजको अध्ययन गर्न जरुरी छ।

फेरि लेखनकै कुरा गरौं। कर्णालीमा भेटेका पात्रको कथा सुनाउन किन लेखन नै रोज्नुभयो?

आउने पुस्ताले केही सिकोस् भनेर आफ्नो भोगाइ, अनुभव र आफ्नो समयको यथार्थ लेखिदिन जरुरी छ। जीवनका भोगाइ र अध्ययनका पाठहरू लेखिदियो भने आउने पुस्ताले पनि धेरै कुरा सिक्छ।

अब आगामी योजना के छ?

राउटेहरूको इतिहास लेखिने काम भएको छ, तर उनीहरूको भावना र समाजलाई कसरी हेरिरहेका छन् भन्ने विषयमा लेखिएको छैन। त्यो विषयमा लेख्ने तयारी गर्दै छु। त्यस्तै बुबाआमा जेल परेका बालबालिकाको जीवनमा केकस्तो असर पर्छ भन्ने विषयमा पनि लेख्ने तयारी गरिरहेको छु।

हिमाल खबरबाट साभार ।  सागर बुढाथोकीले तयार पारेकाे सामाग्री ।  शनिबार, १६ पुस, २०७९