जाडो बढेपछि सीमा प्रहरी चौकी सदरमुकाम सारियो

सुर्खेत ।  मुगु–तिब्बत सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई ६ महिनाको लागि जिल्ला प्रहरी कार्यालयमा सारिएको छ । जिल्लाकाे उच्च हिमाली क्षेत्रमा अत्याधिक जाडो बढेपछि सीमा क्षेत्रमा खटिएका जवानलाई  सदरमुकाम सारिएकाे हाे ।

मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र प्रदेश प्रहरी कार्यालयको आदेशबमोजिम मुगु सीमा प्रहरी चौकीमा कार्यरत एक जना असईसहित ९ जना प्रहरी जवानलाई जाडो कटाउन जिल्लातिर सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भूपेन्द्र बुढाथोकीले जानकारी दिए ।

‘केहीअघिको हिमपात र वर्षाले गर्दा मुगु सीमा क्षेत्रमा अत्यधिक जाडो बढेर बस्न नसकिने अवस्था आएपछि प्रहरी जवानलाई जिल्ला सार्नु पर्ने अवस्था आएको हो,’ उनले भने ।  चैत वैशाखमा गर्मी मौसम सुरु भएपछि प्रहरी जवानलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने सूचना अधिकारीको भनाइ छ ।