हामी आयौं !

२१ औं शताब्दी सूचना र प्रविधिको शताब्दी हो । विश्वको कुनैपनि कुनामा घटेका हरेक घटनाहरुको जानकारी साथै विश्वका विभिन्न ठाउँहरु, संस्कार, संस्कृति, भाषा, लिपी सभ्यताका साथै जीवन र जगतलाई बुझनका लागि सूचना र प्रविधिकै अहम् भूमिका छ भन्दा दुईमत नहोला ।

सूचना र विचारको जगतमा हामीले पाइला टेकेका छौं, आजको शुभ मुहूर्तमा । मल्टिमिडियाको यो भीडमा के नयाँ पाइलाका लागि स्थान छ र? विचारको जगत फराकिलो हुन्छ । विचार, त्यसको ग्राह्यता र अनुमोदनले समाज तथा राष्ट्रको गतिशीलता र अग्रगमनलाई सुनिश्चित गर्दछ । विचारको निषेधबाट समाज हिंसा र खण्डीकरण प्रक्रियामा धकेलिन सक्छ । यो हाम्रै भोगाइको पाठ पनि हो ।

एक्काइसौं शताब्दीमा प्रविधिले हरेक क्षेत्रलाई प्रभावित गरेको छ, अक्सर निर्णायकरूपमा । तर, प्रविधिले मानव चिन्तन र संवेदनालाई विस्थापित गर्न सक्दैन । प्रविधिको सृष्टिका रूपमा जन्मिएको रोबोट समाज र राष्ट्रको नियन्त्रक र सञ्चालक बन्न सक्दैन । तर, विवेकशील, दूरदर्शी र संवेदनशील हातमार्फत प्रविधिले विश्वको कायापलट गर्ने क्षमता राख्दछ ।

उडान नेपाल मिडिया प्रा. लि मार्फत हामी आएका छौं । हामी सदैव सचेत र समर्पित रहनेछौं । पत्रकारिताको सम्मानजनक अस्तित्वले पत्रकारलाई बढी सम्मानित बनाउँछ र सम्मानित पत्रकारले राष्ट्रिय जीवनका विविध पक्षलाई थप जवाफदेही बनाउन सक्छ । त्यस अर्थमा हामी नेपाली नागरिक र वृहत राष्ट्रिय हितका प्रबल पक्षधर रहनेछौं ।

हाम्रो अस्तित्व र प्रभावकारिता हाम्रा समस्त पाठक, श्रोता र दर्शकहरूको सहयोग, सुझाव र अनुमोदनबाट मात्र स्थापित हुन सक्छ । त्यसैले यो संस्थालाई आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर अनि आलोचनामार्फत सहयोग पु¥याउन तपाई सम्पुर्णलाई हामी अनुरोध गर्दछौं ।

हाम्रो उपस्थिति स्थापित गर्ने पहिलो जिम्मेवारी हाम्रो हो । जिम्मेवारी निर्वाहको त्यो क्रममा सबैको अविच्छिन्न सहयोगले हामीलाई हाम्रो कर्तव्यमा जुट्न सहयोग पु¥याउनेछ । व्यवसायिक दायित्वबाट प्रेरित भएर आएका छौं ।

सम्पादक । धन्यवाद!