लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठक चुनावपछिको पहिलो बैठक हो ।

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, चुनावी समीक्षा, संगठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ । लोसपाले हालसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छैन ।

न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको छ । सरकारको विषयमा पनि कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।

‘चुनावपछिको यो पहिलो बैठक हो, बैठकमा चुनावको समीक्षा पनि हुन्छ, संगठन निर्माणका थुप्रै कामहरु बाँकी छन् त्यसका विषयमा पनि छलफल हुन्छ’ उनले भने ।