किशोर किशोरीसँग यौन स्वास्थ्यको कुरा

‘बैंसले मात्तिएको’, ‘बैंस चढेको’ । किशोरवयको चञ्चलतालाई यसरी बुझ्ने वा बुझाइने गरिन्थ्यो, पुरातन समाजमा । यद्यपि एउटा उमेर चरणमा यस्तो चञ्चलता स्वभाविक हुने गर्छ । त्यसबेला हुने शारीरिक परिवर्तन र भावनात्मक उथलपुथलले पनि उनीहरुलाई बढी चञ्चल बनाइरहन्छ ।

त्यसैले त यस उमेरमा उनीहरु नयाँ नयाँ साथी बनाउने, विपरीत लिंगीप्रति आकर्षित हुने, यौनका कुरामा चासो राख्ने गर्छन् ।

जबकि यो कुरा उनीहरुले खुलेर व्यक्त गर्न असहज मान्छन् । यौनप्रतिको उत्सुकता मात्र होइन, आफ्नै यौनाङ्गहरुको विकासले पनि उनीहरुमा कति प्रश्न जगाउँछ । डर र आशंका पैदा गरिदिन्छ । यौनसँग जोडिएका यस्ता असंख्य जिज्ञासा उनीहरुको मनभित्रै गाँठो पर्छ । त्यसले उनीहरुलाई बिस्तारै कुण्ठित बनाउने जोखिम हुन्छ ।

असुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भाधान, यौन हिंसा, दुर्व्यवहार, बलात्कार जस्ता कृत्य निम्त्याउने कारक पनि यही हुन सक्छ ।

इन्टरनेट र अश्लील सामग्रीको लत

ठूलो जोखिम के छ भने अहिलेका बालबच्चा इन्टेरनेटको सहज पहुँचमा छन् । त्यसबाट उनीहरु खोजीखोजी अश्लLल सामग्री हेर्न सक्छन् । उनीहरुलाई यौन शिक्षा र अश्लLल सामग्रीको भेद थाहा हुँदैन । त्यसैले आफ्नो जिज्ञासा शान्त पार्ने चक्करमा उनीहरु अश्लLल फोटो / भिडियोको लतमा पर्न सक्छन् ।

त्यति मात्र होइन, सामाजिक सञ्जालबाट साथी बनाएर अश्लील संवाद गर्ने, अश्लील फोटो, भिडियो साझेदार गर्ने सम्भावना पनि हुन्छ । यसले उनीहरुलाई भोलिको दिनमा निकै ठूलो समस्यामा फसाउन सक्छ । त्यसैले यी सम्पूर्ण कुराबाट सही निकास दिन छोराछोरीसँग यौन ज्ञान र यौन स्वास्थ्यबारे चर्चा गर्नु जरुरी छ ।

यौन हिंसामा पो छ कि ?

हाम्रा बालबच्चाहरुमाथि उनकै सहपाठीहरुले यौन हिंसा पो गरिरहेका छन् कि ? इन्टरनेटबाट यस्तो जोखिम हुन सक्छ ।

उनीहरुलाई सामाजिक सञ्जालमार्फत अश्लील सामग्री पठाउने, अश्लील कार्य गर्न उकास्ने गरेका हुन सक्छन् । यसरी यौन हिंसामा परेको छ भने पनि उनीहरु दुःखी हुन सक्छन् । कतिपयले उनीहरुलाई फकाएर, फसाएर अश्लील फोटो, भिडियो साझेदार गर्न लगाएका हुन सक्छन् । अनि त्यसैको माध्यमबाट अरु फाइदा उठाउने कोसिस गरेका हुन सक्छन् । त्यसैले आफ्नो बालबच्चा कस्तो मनोदशामा छन् भनेर बुझ्न र खोज्न जरुरी छ । साथै इन्टरनेटबाट हुने यौन हिंसाको रुप, त्यसको जोखिमबारे बताउनुपर्छ ।

खासगरी आमाबुवाले आफ्ना किशोर उमेरका छोराछोरीसँग यौन स्वास्थ्य र संयमताको कुरा गर्नुपर्ने हुन्छ । तर कसरी ?

कुराकानीको बहाना खोजौं

हाम्रो जस्तो पारिवारिक संरचनामा बुवाआमा र छोराछोरीबीच यौनका विषयमा कुराकानी गर्नु त्यति सहज छैन । कसरी कुरा गर्ने, के भन्ने ? अभिभावकमा दुविधा हुन्छ । यसको लागि कुनै बहाना खोज्न सकिन्छ ।

जस्तो टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जाल आदिमा आउने यौन सम्बन्धी समाचार, विज्ञापन । त्यही सामग्रीलाई केन्द्रमा राखेर कुरा उप्काउन सकिन्छ र आफूले भन्नुपर्ने वा भन्न खोजेको कुरा थपथाप गर्न सकिन्छ ।

कुन–कुन विषयमा कुराकानी गर्ने ?

आठ–नौ वर्षको उमेरदेखि नै छोरीहरुमा मासिक स्राव सुरु हुन सक्छ । अर्थात् उनीहरुको शारीरिक परिवर्तन त्यसबेला हुन्छ, जतिबेला उनीहरु कलिलै उमेरका हुन्छन् । यसबेला उनीहरुको शरीर परिपक्व हुँदै गए पनि भावनात्मक रुपमा उनीहरु परिपक्व भएका हुँदैनन् । यसले गर्दा आफ्नो शरीरमा के भइरहेको छ भन्नेमा उनीहरुलाई डर, लाज, ग्लानि हुन सक्छ । यो एक स्वभाविक प्रक्रिया हो र यसलाई सहज रुपमा लिनुपर्छ भन्ने कुरा बालबच्चालाई सिकाउनुपर्छ ।

किशोरावस्थामा हुने शारीरिक परिवर्तनबारे कुरा गर्न सकिन्छ । जस्तो महिनावरी, यौनांगको विकास । यसबेला उनीहरुसँग महिनावारी हुँदा के कस्तो शारीरिक समस्या हुन सक्छ, त्यसबेला कसरी शारीरिक स्वच्छता अपनाउने भन्नेदेखि प्याडको प्रयोगसम्मका कुरामा चर्चा गर्न सकिन्छ ।

यौनांगको सफाइ कसरी गर्ने, यदि त्यसो नगरिए के हुन सक्छ, भित्री वस्त्र कति अवधिमा फेर्ने जस्ता कुरा पनि भन्न जरुरी छ । यौनांगको विकाससँगै हुने शारीरिक वा भावनात्मक परिवर्तनबारे पनि बुझाउनुपर्छ ।

जति–जति उनीहरु हुर्कंदै जान्छन्, यौनप्रतिको उत्सुकता पनि बढ्दै जान्छ । यो चरणमा स्वप्नदोष हुने, विपरीत लिंगीप्रति आकर्षण बढ्ने हुन्छ । यसलाई कसरी सहज रुपमा लिने भनेर आमाबुवाले चर्चा गर्न जरुरी हुन्छ ।

आमाबुवाले यस्तो अनुकूल वातावरण बनाइदिनु पर्छ कि, छोराछोरीले यौनका विषयमा स्पष्ट कुरा गर्न सकुन् ।

किशोरहरुको यौन सम्बन्धित निम्न प्रश्नहरु गर्न सक्छन् :

मलाई कसरी थाहा हुन्छ कि म यौनको लागि तयार छु भनेर ?

साथीहरुको दबाब, जिज्ञासा र एक्लोपन जस्ता समस्याले किशोरकिशोरीलाई यौनमा संलग्न हुन उक्साउँछ । आमाबुबाले उनीरुलाई यौनको लागि संयम हुनुपर्छ भनेर सम्झाउनुपर्छ । यौन एक वयस्क व्यवहार हो । त्यसैले अर्को साथीसँग यौनजन्य व्यवहार गर्ने भन्दा पनि स्वस्थ सम्बन्ध स्थापित गर्न प्रेरित गर्नुपर्छ । आमाबुबाले किशोरहरुलाई अरुसँग बोलेर, खेलेर, नाचेर, गाएर र अन्य क्रियाकलाप गरेर सम्बन्ध जोड्न सकिन्छ भनेर सम्झाउनुपर्छ ।

के हुन्छ यदि मेरो पार्टनर चाहिं यौनको लागि सहमत हुन्छ तर म भने सहमत भइनँ भने ?

यदि किशोरकिशोरी यौनका लागि तयार छैनन् भने त्यसमा केही जबर्जस्ती गर्ने कुरा हुँदैन । कुनै प्रकारको जबर्जस्ती यौन सम्पर्क हुनु भनेको बलात्कार हुनु हो, चाहे त्यो माया गर्ने व्यक्ति होस् वा नचिनेको व्यक्ति ।

सुरक्षित यौनको विधिबारे जानकारी

यदि किशोरकिशोरी यौनमा सक्रिय छन् भने आमाबुबाले यसबारे कुरा गर्नु निकै महत्त्वपूर्ण छ । उनीहरु यसबारे कुरा गर्न खोज्दैनन् भने आमाबुबाले नै राम्रोसँग यसको कुराकानी सुरु गर्नुपर्छ । आमाबुबाले किशोरकिशोरीलाई यौनमा सक्रिय भएपछिको जिम्मेवारीहरु सम्झाउनुपर्छ । आमाबुबाले सुरक्षित यौनको महत्वलाई राम्ररी बुझाउनुपर्छ । उनीहरुलाई यौनमा संलग्न हुने बेला कण्डम र अन्य गर्भनिरोधक विधिबारे बुझाउनुपर्छ ।

  • अनलाइनखबरबाट साभार