
जाजरकोटको शिवालय गाउँपालिका-६, काँडागाउँका ३४ वर्षीय चन्द्रबहादुर विकको युगान्डामा मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि उनका बालबालिकाको शिक्षाका लागि नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। युगान्डामा रोजगारी तथा विभिन्न कामको सिलसिलामा रहेका नेपालीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी ३ लाख २१ हजार १०७ रुपैयाँ ५० पैसा सहयोग गरेका हुन् ।
संकलित रकम विककी छोरीको बैंक खातामा जम्मा गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाका पूर्व वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर श्रेष्ठका अनुसार स्वर्गीय विकका बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालीहरूबाट उक्त रकम संकलन गरिएको हो।

श्रेष्ठले बालबालिकाको नाममा नयाँ बैंक खाता खोल्न लगाएर सहयोग रकम संकलन गरिएको र संकलित सम्पूर्ण रकम छोरीको खातामा जम्मा गरिसकिएको जानकारी दिए । उनले विदेशमा रहेका नेपालीहरूलाई अप्ठ्यारो पर्दा आफूहरूले निरन्तर सहयोग र सहकार्य गर्दै आएको बताउँदै स्वर्गीय विकका बालबालिकाको शिक्षामा सानो भए पनि योगदान पु¥याउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको बताए।

विदेशमा रहेर पनि नेपाली समुदायले देखाएको यो मानवीय सहयोगले बुबा गुमाएका बालबालिकाको शैक्षिक भविष्यमा केही राहत पुग्ने उनको विश्वास छ। यता, मृतक विकका परिवारले पनि सहयोग गर्ने मनकारीहरुलाई धन्यवाद दिएका छन् ।









