कर्णाली टुडे

मंसिर ७, २०८३

जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ । जिल्लामा चालु आवका लागि कुल बजेट तीन अर्ब ३३ करोड १६ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको चार दशमलव ६७ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए ।

जिल्लाको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट एक अर्ब ७९ करोड ५० हजार रुपैयाँ विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा ६ करोड ४८ लाख १२ हजार रुपैयाँ अर्थात् तीन दशमलव ६१ प्रतिशत पुँजीगत खर्च भएको छ । यसैगरी, सघन सहरी तथा भवन आयोजनामा रु एक अर्ब ३९ करोड दुई लाख पाँच हजार पुँजीगत बजेट विनियोजन भएकाेमा चालु आवको पहिलो चौमासिकमा ६ करोड ८४ लाख २२ हजार रुपैयाँ अर्थात् चार दशमलव ९२ प्रतिशत खर्च भएको नियन्त्रक अछामीको भनाइ छ ।

उक्त कार्यालयका अनुसार जिल्लाका सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ तीन अर्ब ३३ करोड १६ लाख रुपैयाँ बजेट प्राप्त छ ।