
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, एपेक शिखर सम्मेलनको प्रभाव तथा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय प्रेस क्लबले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राखेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता खडकबहादुर बुढा, नेकपा एमालेका नेता गोपाल नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता वसन्तकुमार बस्नेत र चीनका लागि नेपालका पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले विचार व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै राप्रपा नेता बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणको सफलता भ्रमणबाट देशले प्राप्त गर्ने उपलब्धिका आधारमा मूल्याङ्कन हुनुपर्ने बताए। उनले राप्रपाको नीति पार्टीभन्दा देशलाई माथि राख्ने रहेको उल्लेख गर्दै हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र पार्टीका मूल एजेन्डा भएको बताए। राप्रपाको महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका बस्नेतले पार्टीभित्र आन्तरिक खिचलो र विभाजनको अवस्था आउन नदिन इमानदारिता र पारदर्शिता आवश्यक रहेको धारणा राखे।

त्यस्तै, एमाले नेता गोपाल नेपालीले आफ्नो पार्टीमाथि चौतर्फी हमला भइरहेको आरोप लगाए। राज्य निरंकुशतातर्फ अघि बढिरहेको भन्दै त्यसविरुद्ध खबरदारी गर्न सक्ने पार्टी एमाले मात्रै भएको उनको दाबी थियो। एमाले देश जलाउने पार्टी नभएको उल्लेख गर्दै उनले पार्टीमा तानाशाही प्रवृत्ति नभई संस्थागत अनुशासनलाई प्राथमिकता दिइने बताए। सरकार ढाल्ने खेलमा एमाले नरहेको स्पष्ट पार्दै नेपालीले प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रहितका दृष्टिले उपलब्धिमूलक हुनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका नेता खडकबहादुर बुढाले भने राजनीतिक प्रतिशोधका कारण राज्यमा त्रासको वातावरण सिर्जना भएको आरोप लगाए। दुई तिहाइको दम्भमा सरकारले आतंक मच्चाइरहेको टिप्पणी गर्दै उनले कांग्रेसले जनमत स्वीकार गरेर अघि बढिरहेको बताए। कांग्रेस विधानअनुसार चल्ने पार्टी भएको उनको भनाइ थियो। सरकारले परम्परा तोडे पनि कूटनीतिक प्रोटोकलमा ध्यान दिनुपर्ने बताउँदै बुढाले चीनबाट सार्वजनिक भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बन्धी भिडियोको नियतमाथि प्रश्न उठाए। उनले बालेन नेतृत्वको सरकारको पाँचवर्षे कार्यकालको प्रगति हेर्न बाँकी रहेको उल्लेख गर्दै सरकारले जनताका समस्या समाधानमा ध्यान दिनुपर्ने बताए।
महँगीका कारण जनताको जीवन कष्टकर बनिरहेको भन्दै उनले सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरे। यसैगरी, चीनका लागि नेपालका पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले एपेक शिखर सम्मेलनले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय आर्थिक सुधार, सडक पूर्वाधार तथा डिजिटल र उदीयमान प्रविधिको विकासका लागि अवसर सिर्जना गर्ने बताए। सम्मेलनमा उठेका विषय र तिनले विश्वव्यापी रूपमा पार्ने प्रभावलाई नेपालले आफ्नो विशेषताअनुसार उपयोग गर्नुपर्ने उनको धारणा थियो। आणविक हतियारको होड अन्त्य गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र द्वन्द्वका बीच शान्तिको पक्षमा आवाज उठ्नु सकारात्मक भएको बताए।
विशेषगरी इरान र युक्रेनको युद्धलाई बेवास्ता गरेर विश्वशान्तिको कुरा गर्नु पर्याप्त नहुने उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै श्रेष्ठले नेपाल-भारत सम्बन्धलाई सन्तुलित र व्यवहारिक बनाउनुपर्ने बताए। भारतसँगको सम्बन्ध सुधारका लागि अहिले उपयुक्त समय रहेको उल्लेख गर्दै उनले राजनीतिक नाराभन्दा आर्थिक सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। नेपालले भारतसँग भएका सन्धि तथा सम्झौताका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने बताउँदै उनले सन् १९५० को सन्धि र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
भारतसँग धेरै सम्झौता तथा समझदारीपत्र (एमओयू) गर्नुभन्दा कार्यान्वयन गर्न सकिने र व्यवहारिक उपलब्धि दिने विषय छनोट गर्नु उपयुक्त हुने उनको भनाइ थियो। चीनको लगानी वा सहयोगमा निर्माण भएका जलविद्युत् आयोजनाप्रति भारतको चासो र असन्तुष्टिलाई पनि कूटनीतिक माध्यमबाट सम्बोधन गर्नुपर्ने उनले बताए। नेपालमा हुने प्राकृतिक विपद्को असर भारतमा समेत पर्ने भएकाले विपद् व्यवस्थापन, व्यापार तथा आर्थिक सहकार्यमा दुवै देशबीच समन्वय आवश्यक रहेको श्रेष्ठले उल्लेख गरे। भारतसँगको सम्बन्धमा असमझदारी बढेमा नाकाबन्दीजस्ता समस्या दोहोरिन सक्ने चुनौतीप्रति पनि नेपाल सचेत हुनुपर्ने उनको धारणा थियो।
नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई केन्द्रमा राखेर छिमेकी मुलुकहरूसँग सम्बन्ध अघि बढाउनुपर्नेमा उनले जोड दिए। राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमण, एपेक शिखर सम्मेलनको प्रभाव, आनी छोइङ डोल्माको नियुक्ति, नेपाली कांग्रेसभित्रको विवाद, राप्रपामा ज्ञानेन्द्र शाहीको राजनीतिक सक्रियता, केपी शर्मा ओलीले कार्यकर्तालाई दिएको निर्देशन तथा दानबहादुर कार्की प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।










