सुर्खेतमा ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार वीरेन्द्रनगर नगरपालिका-११ स्थित सुब्बाकुना चेकपोस्टबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेका कर्णाली प्रदेशका तीनवटा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ अछामीडाँडाका ३३ वर्षीय प्रकाश सुनार र २६ वर्षीय मनबहादुर बादी, वीरेन्द्रनगर-१ का १८ वर्षीय सुमन नेपाली तथा कालीकोटको नरहरिनाथ गाउँपालिका-८ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २० वर्षीय जितु विष्ट रहेका छन्। प्रहरीका अनुसार प्रकाश सुनारको साथबाट ३ ग्राम ८२० मिलिग्राम, मनबहादुर बादीको साथबाट १ ग्राम ५७० मिलिग्राम, सुमन नेपालीको साथबाट १ ग्राम १४० मिलिग्राम र जितु विष्टको साथबाट २ ग्राम ५२० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









