रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाएकाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनालाई “अत्यन्त पीडादायी र मर्माहत बनाउने” भन्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । लु १ ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा दुर्घटनामा परेको थियो । करिब ७०० देखि ८०० मिटर गहिरो भिरमा खस्दा २० जनाको मृत्यु भएको थियो ।
विज्ञप्तिमा विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उद्धारमा खटिएका सुरक्षा निकाय र उद्धार टोलीहरूको साहस, समर्पण र मानवीयताको उच्च सम्मान गरिएको छ । रास्वपाले यस घटनाले देशको सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता दुर्घटनालाई केवल तथ्यांकका रूपमा नहेर्न आग्रह गरेको छ ।
“यी घटनाहरू नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन्, जसले परिवार र समुदायलाई दीर्घकालीन पीडामा छोड्छ,” विज्ञप्तिमा भनिएको छ ।



