इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा लगातार तीन हारपछि दिल्ली क्यापिटल्सले पुनरागमन गरेको छ। शुक्रबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित दर्ता गरेको हो। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२५ रनको योगफल तयार पारेको थियो। २२६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यो आईपीएल इतिहासमा दिल्ली क्यापिटल्सले पछ्याएको अहिलेसम्मकै ठूलो स्कोर हो। दिल्लीलाई जिताउन ओपनरहरूले ११० रनको बलियो साझेदारी गरे। केएल राहुलले ४० बलमा ७५ रनको विस्फोटक पारी खेले, जसमा ६ चौका र ५ छक्का सामेल थिए।[...]