Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदभार सम्हालेको झण्डै पाँच हप्तापछि आफ्नो कार्यशैली र प्रतिबद्धताबारे स्पष्ट धारणा सार्वजनिक गरेकी छन् । मन्त्री बादीले नागरिकलाई सम्बोधन गर्दै सार्वजनिक जिम्मेवारी सम्हालेपछि आफूले के–कस्ता काम नगर्ने भन्ने विषय प्रष्ट पारेकी हुन् ।

उनले सुशासनप्रति दृढ प्रतिबद्धता जनाएकी छन्। नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर लगाउने, नियुक्ति दिने तथा सरुवा–बढुवा मिलाउने कार्य नगर्ने उनले बताएकी छन्। त्यस्तै, कानुनविपरीत भनसुन नगर्ने, शक्तिको दुरुपयोग नगर्ने र कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण नगर्ने उनले उल्लेख गरेकी छन्।

लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन कुनै सहयोग नगर्ने उनको भनाइ छ। मन्त्री बादीले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट गर्दै कमिसन, घुस वा कुनै पनि प्रकारको आर्थिक अनियमिततामा संलग्न नहुने र त्यस्तो गतिविधि देखिएमा त्यसविरुद्ध कडाइका साथ उभिने चेतावनी दिएकी छन् ।

उनले विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता जनाएकी छन् । साथै, राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन ‘सर्टकट’ वा सिफारिस स्वीकार नगर्ने र मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा नलिने पनि उनले उल्लेख गरेकी छन्।

नागरिकका दुःख, आपत् र अप्ठ्यारोमा सकेसम्म आफू प्रत्यक्ष रूपमा साथमा रहने प्रतिबद्धता जनाउँदै उनले सुशासन केवल सरकारी नीतिले मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गरेकी छन्।

यस्ता छन् मन्त्री बादीले नगर्ने १० काम

प्रिय नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू,

जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता भएको छ। यस अवधिमा म आफ्ना केही विचार र प्रतिबद्धता यहाँहरू सामु राख्न चाहन्छु। जिम्मेवारी सम्हालेपछिका कामबारे आगामी दिनमा अद्यावधिक गर्नेछु। अहिले भने मैले नगर्ने केही विषयहरू स्पष्ट गर्न चाहन्छु।

पद र जिम्मेवारीमा म निम्न कामहरू गर्दिनँः

१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ।

२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ।

३. कानुन वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ।

४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ।

५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने/गराउने काममा संलग्न हुने छैन। त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।

६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु। यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन।

७. राज्यका कुनै पनि स्रोत–साधनको दुरुपयोग गर्दिनँ।

८. सरकारी सेवा छिटो गराइदिन shortcut खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ।

९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन।

१०. “भोट दिएको हुँ” भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन; सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु । नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा भने सम्भव भएसम्म म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु। मलाई विश्वास छ-सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ।

हामी सबै मिलेर मात्र वास्तविक परिवर्तन सम्भव छ । आउनुहोस्, सम्बन्ध होइन-नियमको सम्मान गरौं। दबाब होइन-न्यायको साथ दिऔं। व्यक्तिगत स्वार्थ होइन-समाजको हितलाई प्राथमिकता दिऔं।

यूएईविरुद्धको खेलबाट राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्दै अर्जुन कुमाल

गण्डकी प्रदेशका अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्ने भएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप

पढ्नुहोस् »

‘महाराजधिराज’मा अनुबन्धित भए सुशील सिटौला

  फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको

पढ्नुहोस् »

फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको

पढ्नुहोस् »

कति पुग्यो लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’को व्यापार?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको

पढ्नुहोस् »