कर्णाली टुडे

भदौ २७, २०८३

जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित छेडा बजारबाट लागूऔषधसहित एक जना जीप चालक पक्राउ परेका छन्। सुर्खेत–जाजरकोट सीमा क्षेत्रमा पर्ने छेडा बजारस्थित नवराज एण्ड नितिसा स्टाफ होटलबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी बजारका २४ वर्षीय ससीराम परियार पक्राउ परेका हुन्।

शनिबार बाँकेको नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको लु.प्र.०१००१ च १७४० नम्बरको बोलेरो जीपका चालक परियारलाई लागूऔषध जस्तो देखिने एक पुडिया पदार्थ, नगद ३ हजार ५ सय ७० रुपैयाँ र अन्य सामग्रीसहित पक्राउ गरिएको प्रहरी चौकी छेडाले जानकारी दिएको छ ।

होटलमा जीपका यात्रुहरूलाई खाना खुवाइरहेका बेला चालक परियार लामो समयसम्म कोठाबाट बाहिर नआएपछि प्रहरी चौकी छेडाका हवल्दार दुर्गा सुनारको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोठामा खोजतलास गर्दा परियारलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी चौकी छेडाका इन्चार्ज लालु सिंहले जानकारी दिए। पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।