Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

२०८० भदौ ३१ गते आइतबार प्रदेश अस्पतालमा बच्चा जन्माएकी सुर्खेतको पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–४ बस्ने ३० वर्षीया जानकी रेग्मी अधिकारीको उचारको क्रममा मृत्यु भयो। जानकीका ससुरा नाता पर्ने तिलकराम अधिकारीका अनुसार सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको शल्यक्रियापश्चात् जनरल वार्डमा सारिएको २४ घण्टापछि मृत्यु भएको हो।

सामान्य अवस्थामा शल्यक्रियामार्फत सुत्केरी गराइएकी जानकीको मृत्यु हुनुमा अस्पतालको लापरबाही भएको आरोप परिवारले लगाए।

‘सुविधा सम्पन्न मानिएको यस अस्पतालमा सुत्केरीको मृत्यु हुन पुग्यो। अस्पतालबाट एक सय मिटर दूरीमा रहेको परिवार र छिमेकी यतिबेला शोकमा छन्,’ अधिकारीले नेपालखबरसँग भने, ‘सकुशल बच्चा जन्मिएपछि सुत्केरीलाई केही समस्या नहोस् भनेर डाक्टरको निगरानीमा राखेर वार्डमा उपचार गर्ने प्रचलन छ तर, वार्डमा भर्ना भएको २४ घण्टामा आफन्तलाई मृत्युको खबर आयो।’

उनले थपे, ‘राज्यले सुत्केरीका नाममा यत्रो लगानी गरेको छ। अस्पताललाई लगानी ओइरिरहेको छ। अस्पतालको वार्डमा भर्ना भएको सामान्य बिरामी यसरी मरिरहनुपर्ने कहिलेसम्म हो सरकार? यो लापरबाही नभएर के हो?’ अधिकारीले प्रश्न गरे।

यस्तै, चैत ३०, २०८० शुक्रबार पश्चिम दैलेखको आठबीस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेपछि उपचारका लागि सुर्खेत झरिन्। सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा समस्या देखियो। त्यसपछि उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल कालागाउँ जाने निधो गरिन्। बिहीबार (चैत २९, २०८०) बिहानै उनी प्रदेश अस्पताल भर्ना भइन्।

अस्पतालमा परीक्षण गराउँदा ४ महिनाअघि सुत्केरी हुँदा पाठेघरमा सालनालका केही अंश बाँकी रहेको पाइएको चिकित्सकले बताए। विवाहित उनको यसअघि ८ महिनाको बच्चा थियो। चिकित्सकका अनुसार उनको पाठेघर सफा गर्नुपर्ने भयो। पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई एक्कासि मृत घोषणा गरिदियो।

भीमाका जेठाजु हर्कबहादुर बलामीले भने, ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासी शव बुझ्न भनेपछि हामी त अचम्मित भयौँ। हिँडेर अस्पताल गएकी भाइबुहारीको एक्कासी शव बुझ्नभन्दा पत्याउन सकिने कुरै थिएन।’

परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै अस्पतालले मृत घोषणा गरेपछि आन्दोलन चर्कियो। उनको त्यो घटना अदालतसम्म पुग्यो।।

यस्तै, बैशाख ४ गते सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी कालिकोटकी २७ वर्षीया भावना विष्टले सुर्खेतमा शिशुलाई त जन्म दिइन् तर त्यसपछि देखिएका जटिलताको उपचार गर्न काठमाडौँ लगी पनि ज्यान गुमाइन्।

कालीकोटको नरहरिनाथ गाउँपालिका–३ की भावनाको सुत्केरी व्यथा लागेपछि गत चैत ३० गते बेलुका सवा ६ बजे सुर्खेतस्थित प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्। सुत्केरी गराउन गाह्रो भएपछि अस्पतालको विशेषज्ञ चिकित्सक टोलीको सल्लाहमा तुरुन्तै आपतकालिन शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेर भावनाले छोरीलाई जन्म दिइन्। पहिला एउटा छोरा भएकाले दोस्रो सन्तान छोरी हुँदा घरपरिवारमा खुशी छाएको थियो। तर, खुशी धेरै समय टिकेन। उनको स्वास्थ्य अवस्था झनझन जटिल बन्दै गयो।

उनको शल्यक्रिया भएको २४ घण्टापछि घाउमा रगत देखियो। अस्पतालले फेरि शल्यक्रिया गर्नुपर्ने बतायो। भावनाका परिवारजन घाउमा जमेको रगत सफा गर्नका लागि अर्को शल्यक्रिया गर्न मन्जुर भए। नरहरिनाथ गाउँपालिका–३ का गोकर्णप्रसाद उपाध्याय अस्पतालको सल्लाह अनुसार दोस्रो शल्यक्रिया गरिएको बताउँछन्। ‘नर्मल सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। त्यसको २४ घण्टापछि रगत जमेको भन्दै अस्पतालले फेरी शल्यक्रिया गर्नुपर्ने बतायो,’ उपाध्यक्ष भन्छन्।

दोस्रो शल्यक्रियापछि भावनाको स्वास्थ्य अवस्था थप जटिल बनेको उनको भनाइ छ। आफन्तले अस्पतालको सल्लाह अनुसार भावनालाई थप उपचारका लागि काठमाडौँ लग्न तयार भए। वैशाख ४ गते मात्रै चिकित्सकीय टोलीसहितको हेलिकप्टरमार्फत काठमाडौँ लगियो। तर, मेडिसिटी अस्पतालमा पुगेको केही समयपछि चिकित्कसले मृत घोषणा गरे।

प्रदेश अस्पताले प्रेस विज्ञप्ति जारी गरेर भावनाको गर्भावस्थामा उच्च रक्तचापसँग सम्बन्धित जटिल समस्या ‘प्रि–एक्लाम्सिया’ तथा ‘एक्लाम्सिया’ को जोखिम देखिएपछि शल्यक्रिया गरेको जानकारी दिएको छ। त्यसपछि चिकित्सकको सल्लाहअनुसार तत्काल आपतकालीन शल्यक्रिया गरिएको शल्यक्रियापछि पनि बिरामीको अवस्था सुर्धिन नसकेको अस्पतालको भनाइ छ।

आफन्तका अनुसार, आठ लाख रुपैयाँ तिरेर हेलिकप्टरमा चिकित्सकीय टोली सुर्खेत पुगेर भावनालाई काठमाडौँ पुर्याएको थियो। समयमै रिफर नगरेको उनीहरूको गुनासो छ। ‘औपचारिकता निभाउन तथा अस्पताललाई दोष नआवस भन्नका लागि काठमाडौँ पठाएको रहेछ,’ उपाध्याय गुनासो गर्छन्।

हेलिकोप्टरबाट हस्पिटल

कर्णालीका स्वास्थ्यचौकीहरूमा विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र आपतकालीन प्रसूति सेवा नहुँदा जटिल अवस्थाका गर्भवतीलाई जिल्ला वा प्रदेश अस्पतालमा लैजानुपर्ने अवस्था छ। दुर्गम गाउँबाट अस्पताल पुग्न ढिलाइ हुने, सडक र यातायातको अभाव हुने तथा आर्थिक समस्याका कारण धेरै महिलाको स्वास्थ्य जोखिममा पर्ने गरेको छ।

सरकारले दुर्गम क्षेत्रका गर्भवती महिलाको ज्यान बचाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हवाई उद्धारको व्यवस्था गरेको छ। तर, धेरै अवस्थामा उद्धार ढिला हुने, सूचना व्यवस्थापन कमजोर हुने र उपचारका लागि पुग्दा बिरामीको अवस्था गम्भीर भइसकेको हुने समस्या निराकरण हुन सकेको छैन।

स्वास्थ्यकर्मीहरूका अनुसार जटिल प्रसूति सेवा स्थानीय तहसम्म सुदृढ नहुँदा यस्तो जोखिम बढिरहेको हो। यसरी अस्पतालमा सुत्केरी महिलाहरुको उपचारका क्रममा मृत्युभएपछि नागरिकहरुले स्वास्थ्य सेवाको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

पछिल्लो समय विभिन्न मन्त्रीले कर्णाली आएका बेला यस प्रदेश अस्पतालको नियमित अनुगमन गर्ने गरेका छन् र अस्पतालको निकै वर्णन गरेर फर्किन्छन्। बाहिर भवन र बस्ने ठाउँ भए पनि उपचार कक्षमा पुगेपछि बिरामीहरुको बेहाल हुने गरेको छ। केही बिरामीले पावर र पँहुचका आधारमा उपचार पाए पनि प्रदेश अस्पतालमा सर्वसाधरणलाई भने सेवा पाउन कठिन छ। प्रदेश अस्पतालमा कार्यरत अधिकांश डाक्टर सुर्खेतमै रहेका निजी अस्पतालमा काम पनि गर्ने गर्छन्। उनीहरु प्रायः हाजिर गर्न मात्रै कालागाउँ पुग्ने गरेको बिरामीको गुनासो छ।

यस्तै, डाक्टरहरुले गर्नुपर्ने काम सबै ओजेटीमा आएका सिकारुहरुले गर्ने गरेका आरोप अस्पतालले खेप्नु परेको छ।

निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशसँगै देशभरका दुर्गम क्षेत्रका ८५० जना बढी गर्भवति तथा सुत्केरीको उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार सेवालाई प्रभावकारी बनाउँदै लगिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार आर्थिक वर्ष २०७५–०७६ देखि हालसम्म ८५० जना बढी गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको हो। तर चालु आर्थिक वर्षको अध्यावधिक विवरण भने सार्वजनिक भएको छैन।

आव २०७५–०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ। यस कार्यक्रमका कारण दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू समयमै उद्धारपछि अकालमा मृत्यु हुनबाट पनि जोगिएका छन्।

 

यूएईविरुद्धको खेलबाट राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्दै अर्जुन कुमाल

गण्डकी प्रदेशका अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गर्ने भएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप

पढ्नुहोस् »

‘महाराजधिराज’मा अनुबन्धित भए सुशील सिटौला

  फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला जोडिएका छन्। केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको

पढ्नुहोस् »

फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको

पढ्नुहोस् »

कति पुग्यो लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’को व्यापार?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको

पढ्नुहोस् »