
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुखद व्यापार गरेको छ। यस फिल्मले ६ दिनमा २ करोड बढीको व्यापार गरेको निर्माणटिमको दाबी छ।
बुधबार साँझ निर्माता सुशील पोखरेलले चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांक नै सार्वजनिक गर्दै कमाइबारे जानकारी दिएका हुन्।फिल्मले बुधबारसम्म घरेलु बक्स अफिसमा २ करोड ११ लाख १३ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मको नेट कमाइ भने १ करोड ८४ लाख ४ हजार ३२८ रुपैयाँ रहेको छ। बुधबारसम्म फिल्मका ७६ हजार ९३६ वटा टिकट बिक्री भएका छन्।
यसअघि दुइदिनको कलेक्सन सार्वजनिक गरिएको थियो। त्यतिबेला दुइ दिनमा फिल्मले १ करोड बढी ग्रस कलेक्सन गरेको थियो। बलियो वर्ड अफ माउथ पब्लिसिटीले गर्दा यस फिल्ममा दर्शकहरुको राम्रो उपस्थिति छ। बुधबार मात्रै फिल्मका निर्देशक र निर्मातासहित कलाकारहरु दर्शक भेट्न मोफसलका हल पुगेका थिए।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी लगायतको अभिनय रहेको छ।



