इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा लगातार तीन हारपछि दिल्ली क्यापिटल्सले पुनरागमन गरेको छ। शुक्रबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित दर्ता गरेको हो। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२५ रनको योगफल तयार पारेको थियो।
२२६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यो आईपीएल इतिहासमा दिल्ली क्यापिटल्सले पछ्याएको अहिलेसम्मकै ठूलो स्कोर हो। दिल्लीलाई जिताउन ओपनरहरूले ११० रनको बलियो साझेदारी गरे। केएल राहुलले ४० बलमा ७५ रनको विस्फोटक पारी खेले, जसमा ६ चौका र ५ छक्का सामेल थिए।
अर्का ओपनर पाथुम निसांकाले ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए। यसअघि राजस्थानका तर्फबाट कप्तान रियान परागले ९० रनको उत्कृष्ट पारी खेलेका थिए। ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे। उनले ध्रुव जुरेल (४२ रन) सँग शतकीय साझेदारी गरेका थिए।
खेलको अन्त्यतिर डोनोवान फरेराले मात्र १४ बलमा ६ छक्काको मद्दतले अविजित ४७ रन जोड्दै टोलीलाई विशाल योगफलसम्म पुर्याए। दिल्लीका लागि यो सिजनको पहिलो खेल खेलिरहेका मिचेल स्टार्कले घातक बलिङ गर्दै ३ विकेट लिए।
यस्तै काइल जेमिसन, अक्षर पटेल र टि नटराजनले समान एक-एक विकेट हात पारे। यो जितसँगै दिल्लीले हारको शृङ्खला तोडेको छ भने राजस्थानका लागि यो नतिजा बिर्सनलायक बनेको छ।



