
सुर्खेतको सिम्ता गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गरिरहेका गाउँपालिकाका मोटरसाइकल फिर्ता गर्न निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको २०८३ असार २८ गतेको निर्णयअनुसार गाउँपालिकाको स्वामित्वमा रहेका दुईपाङ्ग्रे सवारीसाधन कार्यालयको कामबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले कार्यालयको कामका लागि सवारीसाधन आवश्यक परेमा सम्बन्धित शाखामार्फत लगबुक भरेर मोटरसाइकल उपलब्ध गराइने व्यवस्था गरिएको बताए। साथै, सवारीसाधनको मर्मतसम्भार तथा इन्धन व्यवस्थापनको जिम्मेवारीसमेत सम्बन्धित शाखालाई दिइएको बताए।
हाल जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गरिरहेका मोटरसाइकल २०८३ सालको असोज मसान्तभित्र सम्बन्धित शाखामा फिर्ता बुझाउन गाउँपालिकाले निर्देशन दिएको छ।सार्वजनिक सम्पत्तिको संरक्षण, सवारीसाधनको दुरुपयोग रोक्न तथा कार्यालयको कामलाई थप व्यवस्थित बनाउन यो निर्णय कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। उक्त परिपत्र गाउँपालिकाका सबै शाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यान्वयनका लागि पठाइएको छ।









