
जाजरकोटको नलगाड नगरपालिका–१३, सिउनास्थित हेर्ने भिरको ओडारबाट प्रहरीले ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। आज (शुक्रबार) बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो।
बरामद भएका बन्दुकमध्ये २ थान साबुत अवस्थामा रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए। उनकाअनुसार बरामद भएका बन्दुकलाई रीतपूर्वक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









