कर्णाली टुडे

अशोज १८, २०८३

जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित सुर्खेत–जाजरकोट सिमानाको छेडाबजारमा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ। पर्वका समयमा यात्रुहरूको सहजता, सुरक्षा तथा आवश्यक सहयोगलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी नवराज बराल, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धि सागर पुरी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

यात्राका क्रममा यात्रुहरूलाई आवश्यक सूचना, सहजीकरण तथा सुरक्षा सम्बन्धी सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुर्खेत–जाजरकोट सडकखण्ड हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई आवश्यक सूचना, सहजीकरण तथा सुरक्षासम्बन्धी सहयोगका लागि यात्रु सहायता कक्षमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।