
नेपाली कांग्रेस जाजरकोटको १५औँ महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया विवादमा परेको छ। छनोट प्रक्रिया अवैधानिक भएको भन्दै जाजरकोटका तीन जनाभन्दा बढीले छानबिन गरी प्रक्रिया बदर तथा खारेज गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका छन्।
केही व्यक्तिहरूको बैठकबाट आफूखुसी प्रतिनिधि छनोट गरिएको भन्दै उक्त प्रक्रियाले युवाको भावनामा खेलबाड गरेको निवेदनमा दाबी गरिएको छ।
२२ जनाको समर्थनमा शुक्रबार केन्द्रीय निर्वाचन समितिलाई निवेदन दिँदै उनीहरूले जाजरकोटका सात स्थानीय तहमध्ये ३५ वर्षमुनिको युवा कोटाबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दा सीमित व्यक्तिहरूको कोठे बैठकबाट आफ्ना मान्छेहरू गोप्य रूपमा निर्णय गरिएको आरोप लगाएका छन्।
निवेदनमा कुनै सूचना तथा जानकारी नदिई केही व्यक्तिहरूको बैठकबाट आफूखुसी प्रतिनिधि छनोट गरिएको भन्दै उक्त प्रक्रियाले युवाको भावनामा खेलबाड गरेको दाबी गरिएको छ। उजुरीकर्तामध्ये एक युवाले अनुसार महाधिवेशन प्रतिनिधि छनोटका क्रममा अपनाइएको प्रक्रिया पारदर्शी नभएकाले त्यसको छानबिन आवश्यक रहेको कर्णाली टुडेसँग बताए।
उनीहरूले शुक्रबार पार्टी कार्यालयमा पुगेर महाधिवेशन प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रिया छानबिन गरी बदर तथा खारेज गर्न केन्द्रीय निर्वाचन समितिसमक्ष माग गरेका छन्।









