कर्णाली टुडे

अशोज १७, २०८३

सुनौलो संसार म्यानेजमेन्ट प्रा.लि.द्वारा आयोजित ‘फेस अफ लिटल स्टार २०८३’ को अडिसनमा १९३ जना बालबालिकाले उत्साहजनक सहभागिता जनाएका छन्। ‘ट्यालेन्ट विथ पर्सनालिटी’ मूल अवधारणासहित सुरु भएको यस प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकास गर्नु रहेको छ।

बालबालिकालाई मोबाइल तथा डिजिटल लतबाट टाढा राखेर संगीत, नृत्य, अभिनय तथा फेसनजस्ता सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको प्रा.लिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बहादुर थापाले जानकारी दिए। प्रतियोगितामा ७ देखि ९ वर्ष समूह ‘ए’ र १० देखि १२ वर्ष समूह ‘बी’ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा गराइएको छ।

बौद्ध महांकालस्थित नांगसाल क्याफे एण्ड होटेलमा जारी अडिसनबाट प्रत्येक समूहबाट ४०(४० जना उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिनेछ। छानिएका बालबालिकाहरूलाई देशका ख्यातिप्राप्त विज्ञहरूले विशेष प्रशिक्षण दिनेछन्। तीन हप्तासम्म साताको चार दिन आइतबार, मंगलबार, बुधबार र बिहीबार अडिसन चल्नेछ।

प्रतियोगिताको मुख्य विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, क्राउन तथा परिवारका तीन जनाका लागि काठमाडौं–पोखरा हवाई टिकटसहित दुई रात तीन दिनको रिसोर्ट प्याकेज प्राप्त गर्नेछन्। साथै, विजेताका अभिभावकलाई बेकरी, बरिस्ता तथा जिम तालिमको सुविधा र उपविजेताहरूलाई पोखरा भ्रमण प्याकेजसहित विभिन्न आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ।