
एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा बेहोस अवस्थामा भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। जाजरकोटको भेरी नगरपालिका–१ की स्थायी बासिन्दा सिंह विगत दुई वर्षदेखि प्रयोगशालामा नायब प्राविधिक सहायकका रूपमा कार्यरत थिइन्। उनी वीरेन्द्रनगर–७ स्थित कार्यालयको आवास गृहको शौचालयमा बेहोस अवस्थामा फेला परेकी थिइन्।

उद्धारपछि उनलाई देउती अस्पताल हुँदै प्रदेश अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि मृतकका श्रीमान् महेश बस्नेतले आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले साउन १६ गते वीरेन्द्रनगर–८ खजुराबाट विसीलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा चन्द्रा सिंह र विसीबीच फेसबुकमार्फत भएका केही शंकास्पद संवाद फेला परेका छन्।

घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले परिवारका सदस्य, सहकर्मी तथा स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। मृतक सिंहको आइतबार अन्त्येष्टि गरिएको छ। प्रहरीले अनुसन्धानबाट घटनाको वास्तविक कारण खुल्ने विश्वास व्यक्त गरेको छ।









