कर्णाली टुडे

साउन २९, २०८३

जाजरकोटमा गएराति परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले नलगाड नगरपालिका–१० रोलीमा पाँच घरसहित एउटा झुलुङ्गे पुल बगाएको छ । बाढीले स्थानीय पृथ्वीबहादुर विक, खैते विक, नरबहादुर विक र हस्त विकका घर बगाएको छ । यस्तै, वीरबहादुर विकको जग्गामा सुन्तली विकले सञ्चालन गर्दै आएको टिनको टहरा तथा नास्ता पसलसमेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए । उनका अनुसार बाढीबाट प्रभावित घरटहरामा बस्दै आएका ३८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

“३८ जनालाई हामीले सुरक्षित स्थानमा सारेका छौँ,” उनले भने, “बाढीका कारण जिल्लाका अन्य क्षेत्रमा समेत क्षति भएको हुनसक्ने भएकाले हालसम्म क्षतिको विस्तृत तथा यकिन विवरण प्राप्त हुन सकेको छैन् । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।,” घटनापछि उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा आठ जना प्रहरी तथा अस्थायी सुरक्षा बेस दल्लीबाट सशस्त्र प्रहरी नायब निरीक्षक कुलबहादुर रजालीको कमाण्डमा छ जनाको थप टोली घटनास्थलमा खटाइएको छ ।

प्रहरी टोलीले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै घटनास्थलको अवस्था अनुगमन र आवश्यक उद्धार कार्य गरिरहेको जनाएको छ । यसैबीच, अविरल वर्षाका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि डोल्पातर्फ जाने तथा डोल्पाबाट बाहिरिने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन् । बाढीका कारण सडकखण्डमा राखिएको ह्युम पाइपमा समेत क्षति पुगेको छ । तासुघाट खोलामा बाढी आएपछि जाजरकोटको तल्लु बगर, रुकुम पश्चिमको आठबिसकोट हुँदै डोल्पा जाने–आउने सवारीसाधन सञ्चालन हुन नसकेको हो ।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेको बताइएको छ । उक्त क्षेत्रमा वैकल्पिक सडकसमेत नभएकाले तत्काल आवतजावत सञ्चालन गर्न कठिनाइ भएको भेरी करिडोर आयोजनाका प्रमुख नरेशप्रसाद केशरीले बताए । उनका अनुसार बाढीले तासुघाट खोलामा राखिएको ह्युम पाइपमा क्षति पु¥याएपछि सडक अवरुद्ध भएको हो । “बाढीले सडकखण्ड अवरुद्ध भएको छ । खोलाको बहाव उच्च भएकाले सडक तत्काल खुल्ने अवस्था छैन,” केशरीले भने । “हामी सडकखण्डतर्फ जाँदैछौँ । खोलाको बहाव कम भएपछि मात्रै सडक कहिले खुल्छ भन्ने टुंगो लाग्छ,” उनले भने, सडक खुलाउन स्काभेटर तयारी अवस्थामा राखिएको र खोलाको बहाव कम हुनेबित्तिकै सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाले जनाएको छ ।