कर्णाली टुडे

अशोज ८, २०८३

खलंगा क्षेत्रमा उच्च सतर्कता अपनाउन माइकिङ गर्दै जाजरकोट प्रहरी।

जाजरकोटमा भारी वर्षाको सम्भावना देखिएपछि बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक बुद्धि सागर पुरीका अनुसार सम्भावित विपद्बाट नागरिकलाई जोगाउन जिल्लाका जोखिमयुक्त क्षेत्र पहिचान गरी नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ।

उनका अनुसार विपद्का लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ भने प्रहरी कर्मचारीलाई उद्धार तथा सुरक्षाका लागि तयारी अवस्थामा राखिएको छ। सम्भावित विपद्को अवस्थामा प्रभावकारी उद्धार तथा राहतका लागि सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरिएको तथा सुरक्षा निकायबीच सूचना आदानप्रदानको व्यवस्था मिलाइएको छ।

भारी वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जाजरकोटका मुख्य सडकमा रातिको समयमा यात्रा गर्न रोक लगाइएको डीएसपी पुरीले जानकारी दिए। उनका अनुसार जिल्लाभर सम्भावित जोखिमका क्षेत्रको निगरानी बढाइएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा माइकिङसमेत गरेको छ।

माइकिङमार्फत स्थानीयवासीलाई सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन र उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ।