कर्णाली टुडे

साउन २२, २०८३

जाजरकोटको जुनीचाँदे गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत पदपूर्ति प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले गाउँ शिक्षा ऐन, कार्यविधि तथा शिक्षा नियमावलीअनुसार आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा १–१० तथा १–१२) सञ्चालन भएका विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि बिहीबार सार्वजनिक सूचना जारी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत रेशम महताराका अनुसार शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन–२०८३ तथा जुनीचाँदे गाउँपालिकाको प्रधानाध्यापक व्यवस्थापन, शिक्षक सरुवा तथा काजसम्बन्धी कार्यविधि–२०८३ बमोजिम खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको हो । योग्यता पुगेका स्थायी शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ । आवेदन दिन चाहने शिक्षकले तोकिएको शैक्षिक योग्यता र अनुभव हासिल गरेको हुनुपर्नेछ। साथै, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको तथा प्रचलित कानुनबमोजिम अयोग्य घोषित नभएको हुनुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले छनोट प्रक्रिया स्वीकृत कार्यविधिअनुसार सञ्चालन हुने जनाएको छ ।

यद्यपि, आधारभूत तह (कक्षा १–३) सम्म सञ्चालन भएका विद्यालयमा भने यो व्यवस्था लागू नहुने स्पष्ट पारिएको छ । प्रमुख प्रशासकीय अधिकृत महताराले शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रभावकारी बनाउन खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरिएको बताए । साथै यो निर्णयलाई स्थानीयहरुले चौतर्फी प्रशंसा गरेका छन् । शिवालय गाउँपालिका–५ स्थित काउँलामा रहेको हिमालय आधारभुत विद्यालयमा कार्यरत शिक्षक कर्णबहादुर शाहीले जुनीचाँदे गाउँपालिकाले गरेको निर्णय स्वागतयोग्य भएको बताए । उनले यस्तै निर्णय अन्य पालिकाले पनि गर्नुपर्ने बताए ।