
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जाजरकोटको खलङ्गामा जारी क्षेत्रीय अधिवेशनमा दुवै प्रदेश सभा क्षेत्रको सभापति पदमा सहमति जुट्न सकेको छैन। सहमति जुटाउन बिहानदेखि भएको छलफल टुङ्गिएको छ।
प्रदेश सभा (क) सभापति पदका लागि नलगाड नगरपालिकाका किशोरबहादुर मल्ल र भेरी नगरपालिकाका तिलक आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै, प्रदेश सभा (ख) सभापति पदका लागि तीन जनाले दाबी प्रस्तुत गरेका छन्।
उम्मेदवारी घोषणा गर्नेमा शिवालय गाउँपालिकाका दीपक खड्का, छेडागाड नगरपालिकाका टोपेन्द्र अधिकारी र प्रकाश सिंह रहेका छन्। दुवै प्रदेश सभा क्षेत्रमा सभापति पदमा सहमति जुटाउन बिहानदेखि कार्यदलले छलफल गरे पनि टुङ्गो लाग्न नसकेपछि आजको छलफल स्थगित भएको कार्यदलका एक सदस्यले जानकारी दिए।
सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि हालसम्म सहमति जुट्न नसकेको ती सदस्यले बताए। उनका अनुसार भोलि बिहान ११ बजेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिनेछ। उक्त समयसम्म पनि सहमति नजुटे कार्तिक ११ गते खलङ्गामा निर्वाचन गर्ने तयारी गरिएको छ।
“हामीले बिहानदेखि छलफल गर्यौं। छलफलमा टुंगो लाग्न नसकेपछि छलफल विना निष्कर्ष टुंगिएको छ।,” ती सदस्यले कर्णाली टुडेसँग भने। “भोलि ११ बजेसम्म टुङ्गो लगाउने समय दिइएको छ। त्यसबेलासम्म सहमति हुन सकेन भने कार्तिक ११ गते खलङ्गामा चुनाव गर्नेछौँ,”









