कर्णाली टुडे

साउन २९, २०८३

जाजरकोटको नलगाड नगरपालिका–५ मुलीमा एक जनालाई कुटपिट गरी घाँटीमा कपडा कसेर बेहोस बनाई नगदसमेत लिएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय सुमन वली रहेका छन्।

उनले गत साउन २४ गते राति करिब ११ बजेको समयमा नलगाड नगरपालिका–५ मुलीका ५१ वर्षीय चन्द्रबहादुर वलीलाई चुरोट खुवाई कुटपिट गरेको र ज्यान मार्ने उद्देश्यले घाँटीमा कपडा कसी बेहोस बनाएर घरदेखि करिब २०० मिटर टाढा बारीमा लगेको थिए। सो क्रममा नगदसमेत लिएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका सुमनलाई खोजतलास गर्ने क्रममा साउन २७ गते दिउँसो साढे ४ बजेको समयमा नलगाड नगरपालिका–५ मुलीस्थित सार्वजनिक बाटोबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिए।

पक्राउ परेका वलीलाई जाजरकोट जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।