कर्णाली टुडे

मंसिर ४, २०८३

दाङ। लुम्बिनीको भ्रमण सकेर बाँकेको कोहलपुरतर्फ फर्किँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ स्थित शिवखोलानजिक बिहीबार बिहान सवा ८ बजे बस अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो। कोहलपुर नगरपालिका-१४ हल्दापुरका २६ वर्षीय राजकुमार विकले चलाएको भे १ ख ३१३० नम्बरको बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए। दुर्घटनामा १४ जना घाइते भएका छन् भने अन्य ३७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुने सबैलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको छ। घाइतेमध्ये बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँका २० वर्षीया पूर्णिमा थापा र २१ वर्षीया अनिषा सुनार रहेका छन्। त्यस्तै, बर्दियाको बासगढी नगरपालिका–३ का १९ वर्षीय जीवन सुनार, २० वर्षीय सन्दीप सुनार, १८ वर्षीया सन्ध्या सुनार, १८ वर्षीया निरुता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली, १६ वर्षीया मनिषा सुनार, १८ वर्षीया पूजा सुनार, दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार घाइते भएका छन्। दाङ प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।