कर्णाली टुडे

मंसिर २, २०८३

जाजरकोटको शिवालय गाउँपालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबार पनि नियमित पठनपाठन सञ्चालन हुने भएको छ। गाउँ शिक्षा समितिको मिति २०८३ कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार मंसिर १ गतेदेखि लागू हुने गरी आइतबारसमेत विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरे पनि निर्धारित शैक्षिक सत्रभित्र पाठ्यक्रमले तोकेको वार्षिक पाठ्यघण्टा, पाठ्यभार तथा सिकाइ उपलब्धि पूरा गर्न कठिनाइ हुने देखिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको छ।

गाउँपालिकाको निर्णयअनुसार आइतबार पनि विद्यालयहरूले अन्य सामान्य कार्यदिनसरह पूरा समय कक्षा सञ्चालन गर्नुपर्ने प्रमुख शिक्षा अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए।