कर्णाली टुडे

मंसिर १२, २०८३

डोल्पामा काठमाडौं मेडिकल कलेज (केएमसी) ले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ हजार नागरिक लाभान्वित भएका छन् । जिल्लाको सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा शुक्रबार सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा जिल्लाका करिब २ हजार नागरिकले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा लिएका हुन् ।

काठमाडौं मेडिकल कलेज र जी.पी कोइराला फाउन्डेसनको समन्वय तथा ठुलीभेरी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरमा जिल्लाभरका करिब २ हजार नागरिकले सेवा लिएको जी.पी कोइराला फाउन्डेसनका सभापति एवं केएमसीका सञ्चालक डा. सुनिलकुमार शर्माले जानकारी दिए । उनका अनुसार शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बालरोग, शल्यचिकित्सा, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नसा, छाला तथा यौनरोग, नाक–कान–घाँटी, आँखा, दन्तरोग, न्युरो सर्जरी, युरो सर्जरी, न्युरो मेडिसिन तथा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो । त्यस्तै, ईसीजी, यूएसजी, एक्सरे तथा प्रयोगशाला परीक्षणअन्तर्गत एचबी, सुगर, युरिया, युरिक एसिड, पिसाब परीक्षण र गर्भ परीक्षणलगायतका सेवा पनि निःशुल्क उपलब्ध गराइएको शर्माले बताए ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनको भनाइ छ । डोल्पाका नागरिकले सामान्य स्वास्थ्य परीक्षण तथा विशेषज्ञ उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाले यस्ता शिविरले नागरिकलाई ठूलो राहत पुगेको ठुलीभेरी नगरपालिकाको दाबी छ।

यसैबीच, डा. शर्माले डोल्पाका एकसय बिरामीको काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् । स्वास्थ्य शिविरका क्रममा उनले आवश्यक उपचार गर्नुपर्ने बिरामीलाई केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका हुन् । जिल्लामै पहिलोपटक यति ठूलो संख्यामा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक उपकरणसहित स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् ।

स्थानीय मिलन शाहीले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा गाउँमै पाउनु डोल्पावासीका लागि ठूलो उपलब्धि भएको बताइन् । उनले यस्ता शिविर एक दिनका लागि मात्र नभई केही दिनसम्म सञ्चालन गर्न सके जिल्लावासीले अझ बढी राहत पाउने धारणा राखिन् । शिविरबाट हजारौँ रुपैयाँ खर्च गरेर जिल्ला बाहिर लिनुपर्ने स्वास्थ्य सेवा निःशुल्क प्राप्त भएको भन्दै उनले आयोजकप्रति आभार व्यक्त गरिन् ।

त्यस्तै, ठुलीभेरी नगरपालिकाका नगरप्रमुख श्वर्णकुमार बूढाले शिविरबाट ठूलो संख्यामा नागरिक लाभान्वित भएको बताए । विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएकोमा डा. शर्मालाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि यस्ता शिविर सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले पनि शिविरलाई जिल्लावासीका लागि खुसीको विषय भएको बताए । उनले डोल्पाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुर्‍याएको भन्दै आयोजक, चिकित्सक तथा डा. शर्माप्रति जिल्लावासीका तर्फबाट धन्यवाद व्यक्त गरे ।