कर्णाली टुडे

अशोज १६, २०८३

प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढा

प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले भूकम्पबाट घर क्षति भएका तर विस्तृत क्षति आकलन (डीडीए) मा नाम छुटेका वास्तविक पीडितलाई पुनःमूल्याङ्कन गरी सरकारी अनुदान तथा पुनर्निर्माण प्रक्रियामा तत्काल समेट्न सरकारसँग माग गरेका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद बुढाले डीडीएमा अभिलेख छुटेकै कारण भूकम्पपीडितहरू सरकारी सुविधाबाट वञ्चित हुनुपरेको बताए।

“अभिलेखमा नाम छुटेकै कारण नागरिक न्यायबाट वञ्चित हुनुहुँदैन,” भन्दै उनले छुटेका घरहरूको निष्पक्ष पुनःमूल्याङ्कन गरी वास्तविक पीडितलाई अनुदान तथा पुनर्निर्माणको प्रक्रियामा तत्काल समेट्न नेपाल सरकारसँग जोडदार माग गरे।सांसद बुढाले जाजरकोटमा भूकम्पपछिको पुनर्निर्माणले विस्तारै गति लिन थालेको भन्दै पुनर्निर्माणका लागि सक्रियता र समन्वय गर्ने प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित सबैलाई धन्यवादसमेत दिए।

त्यस्तै, ताक्सुगाडलगायत भेरी करिडोरका लामो समयदेखि अलपत्र अवस्थामा रहेका पुलहरूको स्थलगत अनुगमनपछि निर्माण कार्य अघि बढ्नु सकारात्मक भएको उल्लेख गर्दै उनले ती पूर्वाधार निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरे।