सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि (बुधबार) मुस्लिम धर्मालम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै बिदा दिने निर्णय भएको जानकारी गराएको हो। २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको थियो।
सोही व्यवस्थाको सन्दर्भमा मुस्लिम आयोगबाट २०८३ साल भदौ १० गते बुधबारका दिन मोहम्मद जयन्ती परेको बेहोरा जानकारी प्राप्त हुन आएकाले सो दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ,’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ। यससँगै गृह मन्त्रायलले मोहम्मद जयन्तीका अवसरमा मुस्मिल धर्मालम्बीलाई शुभकामना पनि व्यक्त गरेको छ।










