कुलेन्द्र शाही

भदौ ८, २०८३

पुनर्निर्माणका लागि घर शिलान्यास गर्दै संघीय सांसद खडकबहादुर बुढासहितको टोली ।

भूकम्पले घर भत्काएको करिब ३४ महिनापछि जाजरकोटका भुकम्पपीडितमा घर बन्ने आशा जागेको छ । २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लामा ठुलो जनधनको क्षति गरेको थियो । भुकम्प गएको लामो भइसक्दा पनि पुर्ननिर्माणको कार्य सुरु हुन सकेको थिएन् । आइतबार जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा शून्य लागतमा आवास पुनर्निर्माणको काम औपचारिक रूपमा सुरु भएपछि लामो समयदेखि निराश रहेका भूकम्पपीडितको मनमा फेरि आशा जागेको छ ।

भेरी नगरपालिका–१ रावतगाउँका ६० वर्षीय चन्द्रे कामीको घर शिलान्यास गर्दै पुनर्निर्माण अभियान सुरु भएसँगै भुकम्पपीडितहरु शुन्य लागतमा घर बन्ने भयो भन्दै खुसी बनेका छन् । लामो समयदेखि अस्थायी आवासमा बस्दै आएका चन्द्रे कामीले आफ्नो घर शिलान्यास मात्र नभई सुरक्षित बासको आशा फर्किएको दिन बताए । भूकम्पपछि अस्थायी टहरामा पुग्नुभएकी ७० वर्षीया कौशिला विकका लागि पनि घर निर्माणको सुरुवात आफैँमा ठूलो खुसीको विषय बनेको छ । “सरकारले शून्य लागतमा घर बनाउने भनेर शिलान्यास गरेको छ । यसले खुसी लागेको छ ।,” उनले भनिन्, मसँग घर बनाउने पैसा थिएन । त्यसैले अहिलेसम्म टहरामै बस्नुपरेको छ ।”

कौशिलाजस्तै धेरै परिवारका लागि अस्थायी टहरा बाध्यता बनेको छ । चिसो, गर्मी र वर्षा सहँदै लामो समय टहरामा बिताएका उनीहरू अब आफ्नै घर बन्ने दिनको प्रतीक्षामा छन् । भेरी नगरपालिकाकी पार्वती विक पनि पुनर्निर्माण सुरु भएपछि खुसी देखिन्छिन् । तर, खुसीसँगै उहाँको मनमा पुर्ननिर्माणको कार्य शिलान्यासमै सीमित हुने हो कि भन्ने डर छ । “लामो समयपछि काम सुरु भएको छ । यो खुसीको कुरा हो,” उनले भनिन्, “तर अहिले तामझाम गरेर सुरु गर्ने र पछि वास्ता नगर्ने हो कि भन्ने चिन्ता पनि छ । हामी पीडितहरू फेरि त्यही टहरामै बस्नुपर्ने हो कि भन्ने डर लाग्छ ।” भेरी नगरपालिका–१ मा पुनर्निर्माण सुरु भएको खबरले जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि आशा जगाएको छ । बारेकोटका रामबहादुर नेपालीले भेरीमा घर निर्माण सुरु भएको देख्दा खुसी लागेको बताए ।

आइतवार घर शिलान्यास गरिएका श्रीमान श्रीमती चन्द्रे कामी र कौशिला विक

“भेरी नगरपालिकाबाट पुर्ननिर्माण कार्य सुरु भएको देख्दा खुसी लागेको छ । अब हाम्रो क्षेत्रमा पनि छिट्टै सुरु भए झन् खुसी हुने थियौँ,” उनले भने । वर्षौँदेखि अस्थायी आवासमा बसिरहेका गरिब, दलित, विपन्न तथा जोखिममा रहेका परिवारका लागि पुनर्निर्माणको सुरुवात सुरक्षित आवासको आशा बनेको छ । पुनर्निर्माण अभियानको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले भूकम्प प्रभावितका घर शून्य लागतमा निर्माण सुरु हुनु खुसीको विषय भएको बताए । उनले भूकम्पपछि संसद्मा पटक–पटक पुनर्निर्माणको विषय उठाउँदै आएको उल्लेख गर्दै अब एक घरबाट सुरु भएको अभियान निरन्तर अघि बढ्ने बताए । “अरुले विकासका नाममा सडक, भवन बनाउँछन् ।” उनले भने, “आज म सांसद हुँदै गर्दा नागरिकका घर निर्माण गर्न पाउने अवसर पाएको छु । यो मेरो लागि सौभाग्य हो ।,”

सांसद बुढाले एक वर्षभित्र जाजरकोटका करिब सात हजार भूकम्प प्रभावितका घर निर्माण गर्ने गरी सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । उनकाअनुसार जाजरकोटमा पुनर्निर्माणका लागि करिब पाँचदेखि सात अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनारले पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गरेर आवास निर्माणको काम अघि बढाइएको बताए । उनका अनुसार आफैँ घर निर्माण गर्न नसक्ने भूकम्प प्रभावितलाई आवश्यकताअनुसार अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अब जाजरकोटका भूकम्प प्रभावितका घर निर्माणले गति लिने उनको भनाइ छ । पहिलो चरणमा भेरी नगरपालिका–१ र ३ बाट पुनर्निर्माण सुरु गरिएको छ । त्यसपछि वडा नम्बर २ र ४ मा समेत आवास पुनर्निर्माणको काम अघि बढाइने जनाइएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जाजरकोटमा करिब २४ हजार भूकम्प प्रभावितका घर पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बताए । जाजरकोटबाट पुनर्निर्माणको काम सुरु भएपछि अब क्रमशः अन्य प्रभावित क्षेत्रमा समेत काम अघि बढ्ने उनले बताए ।