
अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा पहिरो जाँदा सात जना घाइते भएका छन्। शनिबार अपराह्न ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङ क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घर तथा अस्थायी टहरामा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पहिरोमा परी भेरी नगरपालिका–२ रिसाङका करिब ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। उनको छाती, टाउको र हातमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको छ।
सोही घटनामा आरन सञ्चालक ४५ वर्षीय सिद्दीबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस्तै, भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्रावली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, डौरीकाँडा बस्ने ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुंगानाको कमाण्डमा पाँच जनाको टोली खटाइएको छ। पहिरोमा परी १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतिकला विक पनि घाइते भएका छन्।
दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मोतिकलाको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। यस्तै, भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पहिरोले पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
सोही स्थानकी भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा हाल मानिस बसोबास नगर्ने प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको छ।
पहिरोका कारण सडकसमेत अवरुद्ध भएकाले सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।









