कर्णाली टुडे

मंसिर १, २०८३

फाइल फोटो

जाजरकोटको भेरी नदीमा पौडी खेल्ने क्रममा एक व्यक्ति बगेर बेपत्ता भएका छन् । भेरी नगरपालिका-३ पिपलडाँडा निवासी ४३ वर्षीय बबी शाह आज(सोमबार) दिउँसो भेरी नगरपालिका-१ छोटेबगरस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार शाह पिकनिक खान छोटेबगर पुगेका बेला नदीमा पौडी खेल्ने क्रममा बगेका थिए । उनीसँगै पिकनिक खान गएका डिल्ली रावलले दिउँसो १ बजे इलाका प्रहरी कार्यालय रिम्नामा टेलिफोनमार्फत घटनाबारे जानकारी गराएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्रबहादुर रानाको कमाण्डमा ६ जनाको टोली खोजीकार्यमा खटिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक विवेक रसाइलीको कमाण्डमा ८ जना, अस्थायी प्रहरी पोस्ट रावतगाउँबाट २ जना तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक बमबहादुर बुढाको कमाण्डमा ७ जनाको टोलीसमेत घटनास्थलमा पुगेर खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ । बेपत्ता शाहको खोजीकार्य जारी रहेको छ।