कर्णाली टुडे

कार्तिक २५, २०८३

सुर्खेतको भेरीगंगा नगरपालिका-१० गगनपानीमा बोलेरो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आज (मंगलबार) दिउँसो १ः५५ बजे सुर्खेतबाट जाजरकोटतर्फ जाँदै गरेको लु.प्र.०१-००१ च ३५३५ नम्बरको डबल क्याप बोलेरो अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका-२ का २० वर्षीय राजु नेपाली, लेकवेशी नगरपालिका-२ की ५१ वर्षीया गंगा शाही, जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का ८ वर्षीय महेन्द्र बस्नेत, छेडागाड नगरपालिका-६ का २३ वर्षीय दिनेश खड्का, सोही ठाउँकी ९ वर्षीया सुप्रिमा थापा र २९ वर्षीया निर्मला खड्का रहेका छन्।

त्यस्तै, जाजरकोटकै जुनिचाँदे गाउँपालिका-३ का ३१ वर्षीय रुपबहादुर खड्का र नामथर तथा वतन नखुलेकी १७/१८ वर्षीया महिला पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतसहित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनामा परेको बोलेरो गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।