Nepal Current Time and Date १५ बैशाख २०८३, मंगलवार

कर्णाली टुडे

बैशाख २३, २०८३

आदर्श विक्रम सिंह

सुर्खेत। दैलेखको महावु गाउँपालिका–४ गिताचौरका २६ वर्षीय मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली यूथ फेस्टिभल’मा ‘कर्णाली यूथ आइकन’बाट सम्मानित भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही वैशाख १९ गते शनिबार देखि सञ्चालित ‘कर्णाली युथ फेस्टिभल’ मा सिंह कर्णाली युथ आइकनबाट सम्मानित भएका हुन् ।

दैलेखको दुर्गम गाउँबाट सुरु भएको उनको संघर्ष, लगन र निरन्तर मेहनतले आज उनलाई कर्णालीकै प्रेरणादायी युवाको रूपमा चिनाएको छ। वि.सं. २०५६ सालमा बुबा याम बहादुर सिंह र आमा टीका कुमारी सिंहको कोखबाट जन्मिएका आदर्श सानैदेखि जिज्ञासु, अध्ययनशील र सेवाभावी स्वभावका थिए। शिक्षक बुबा र स्वयंसेविका आमाको संस्कारले उनलाई बाल्यकालदेखि नै सिकाइ र समाजसेवाप्रति आकर्षित बनायो।

सात कक्षाबाटै विद्यालयमा उत्कृष्ट नतिजा ल्याउँदै उनी उच्च अध्ययनका लागि गाउँ छोडेर दैलेखको सदरमुकाम पुगे। उनले कक्षा १२ को अध्ययन सुर्खेतको वीरेन्द्रनगर स्थित श्री आदर्शराज मेमोरियल माध्यमिक विद्यालयबाट पूरा गरे भने स्नातक तहको अध्ययन मध्यपश्चिम विश्वविद्यालयबाट सम्पन्न गरे। शैक्षिक यात्रासँगै उनले आफ्नो लक्ष्यलाई फराकिलो बनाउँदै सन् २०१८ देखि उप्रेरक वक्ताका रूपमा सक्रियता बढाए। हालसम्म उनले प्रत्यक्ष रूपमा झण्डै २० हजारभन्दा बढी विद्यार्थी र युवाहरूलाई प्रेरित गरिसकेका छन्।

पछिल्लो समय उनी नेपाल प्रहरीलाई समेत उत्प्रेरणा दिने कार्यमा संलग्न छन्।आदर्श ‘राइजिङ ट्यालेन्ट’ का संस्थापक समेत हुन्। यस संस्थामार्फत उनले युवाहरूलाई पब्लिक स्पिकिङ तालिम दिँदै आएका छन्। साथै, ‘सम्भव छ’ नामक पोडकास्ट कार्यक्रम सञ्चालन गर्दै अनुभव र प्रेरणादायी विचारहरू बाँडिरहेका छन्। सामाजिक र राजनीतिक चेतनामा समेत सक्रिय रहेका आदर्शले २०८२ सालको जेन-जेड आन्दोलनका क्रममा कर्णाली प्रदेशमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए।

त्यसयता उनी जेन–जी पुस्ता र युवाहरूलाई उन्नत लोकतन्त्र, सुशासन र सामाजिक न्यायका विषयमा सचेत बनाउँदै आइरहेका छन् । गिताचौरको साधारण परिवेशबाट सुरु भएको आदर्शको यात्रा आज कर्णालीकै युवाहरूका लागि उदाहरण बनेको छ। कर्णाली युथ आइकनबाट सम्मानित आदर्श दर्शन, अध्यात्म, व्यक्तित्व विकास, नेतृत्व, उद्धमशीलता र नयाँ पुस्ताको चेतनामा खरो अध्ययन गर्ने व्यक्ति समेत हुन् ।