सुर्खेत । कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने भएको छ ।
यस वर्ष नतिजा प्रकाशनमा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजु चलिरहेको उनले बताए । ‘अहिलेसम्म ४० प्रतिशत रुजुको काम पनि सकिएको छ,’ उनले भने ।
केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायत कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ ।
यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाएका छन् ।
शैक्षिक सत्र जेठसम्म बनाउन प्रस्ताव
बोर्डका अध्यक्ष पौडेलले कोभिडका कारण कक्षा ११ र १२ को कक्षा ढिला सुरु भएकाले जेठसम्म शैक्षिक सत्र कायम गर्न प्रस्ताव गरी शिक्षा मन्त्रालय पठाएको बताए ।
जेठसम्म कक्षा सञ्चालन गरी असारमा परीक्षा गर्न सकिने उनको भनाइ छ । शिक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा लगेको जनाएको छ ।