बेवास्ता गरिएको खस साम्राज्य

तिब्बततिर गुगे भन्ने राज्य थियो । १६औँ शताब्दीसम्म अस्तित्वमा रहेको यो राज्यको त्यसपछि कुनै अभिलेख भेटिँदैन । त्यहाँको गुम्बामा दीक्षित भएर फर्केका नागराजले सुरुमा ताक्लाकोटबाट राजकाज चलाए । त्यसपछि ११५० ताका सिन्जा उपत्यकालाई राजधानी बनाएर शासन सुरु गरे । खस साम्राज्यको सुरुवात यसैलाई मानिन्छ ।

उनी आउनुअघि जुम्लामा पालहरूको शासन थियो । क्रमशः उनले ससाना टुक्रा राज्यहरूलाई खस साम्राज्यमा विलय गराए । क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्लले यसपछि खस साम्राज्यलाई थप विस्तार गरे । चौधौँ शताब्दीसम्म निकै बलियो रहेको यो राज्य त्यसपछि अन्त्यको दिशामा गयो । राज्य कमजोर हुनुको मुख्य कारण आन्तरिक कलह थियो । साम्राज्य टुक्रिएर विभिन्न राज्यमा विभाजित भइरहेका थिए ।

छिमेकमा रहेका तिब्बत र भारतीय राज्यमा पनि यस्तै अस्थिरता चलिरहेको थियो । यो भूगोलमा यसरी अस्थिरता चलिरहेकै वेला १५६२ मा डोल्पाको साल्दाङ केन्द्र बनाएर ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प आयो । त्यसले यहाँ बाँकी रहेका सम्पदा र यहाँको कनेक्टिभिटीमा पनि क्षति पुर्‍यायो ।

असर स्वरूप, खस साम्राज्यको बाँकी विरासत पनि मेटियो । हाम्रो राष्ट्रियतालाई एक सूत्रमा बाँधेर मौलिक पहिचान र आधार निर्माण गर्ने नेपाली भाषाको विकास खस सभ्यताकै उपज थियो । तर, यस विषयमा जति अनुसन्धान हुनुपर्ने हो, त्यो कहिल्यै भएन ।

खस भाषा : भाषाको विकास कर्णालीमा मौलिक रूपमै विकास भएको देखिन्छ । शब्दावली, लेखन मौलिक रूपमै आएको देखिन्छ । यहीँबाट खस भाषा अन्यत्र फैलियो । भाषा र सभ्यता फैलने चार–पाँचवटा कारण हुन्छन् । एउटा युद्धमा जिते, त्यो ठाउँसम्म जान्छ ।

अर्को व्यापार व्यवसायमार्फत सांस्कृतिक प्रभाव जमाउने काम हुन्छ । किनकि, राज्य विस्तार डकैती गरेर फर्किएजस्तो एकैपटक हुने काम होइन । सम्राट्हरूले कुनै पनि ठाउँलाई नियन्त्रण लिनुअघि त्यहाँ सदैव आफ्नो पकड बनाउने महत्वाकांक्षा राखेका हुन्छन् ।

त्यसैले उनीहरूले आक्रमण गर्नासाथ सेनासँगै ठूलो संख्यामा मानिसहरू पनि त्यहाँ लैजान्छन् । खस राज्य जति–जति पूर्वतर्फ गयो, त्यहाँ खसहरू पनि गए । आफूलाई असुरक्षित लागेका ठाउँमा खसहरूले आफ्ना मानिस राखे । भाषा र संस्कृतिको प्रवर्द्धन उनीहरूमार्फत नै भयो ।

पूर्वतर्फ त्रिशूली किनार र पश्चिमतर्फ गढवालसम्म पुगेकाले नै खस भाषा विकास भयो । खस पहिचान लिएका मानिसहरू आज पनि १५–२० पुस्ताअघि जुम्लाबाट आएको हो भन्छन् । नेपालको पूर्वाञ्चलमा भएको मानिसलाई सोध्नुभयो भने, मध्यतिरबाट आएको भन्छन् । मध्यतिरका मानिसले कास्कीबाट भन्छन् । कास्कीकाले जुम्लाबाट भन्छन् ।

इतिहास यसरी क्रमशः फैलिएको देखिन्छ । मस्टो संस्कृति कर्णालीबाटै पूर्वतर्फ फैलिएको हो । खस पहिचान भएका मानिसहरूले आज पनि देशभर आफ्नो कुल देवताको रूपमा मस्टो मानिरहेका छन् । कालान्तरमा त्यसको भेद फरक भए पनि उनीहरूले मानिरहेका छन् । यो कर्णालीबाटै फैलिएको हो ।

कतिपयले खसहरू भारतबाट वा पठारबाट खेदिएर कर्णालीमा आएको तर्क पनि गर्छन् । म त्यो मान्न तयार छैन । केही मानिस अवश्य आए । तर, अहिले भएका खसहरूलाई नै विस्थापित गर्ने वा त्यहाँको संस्कृति प्रभावित गर्ने गरेर नयाँ मानिस आएको देखिँदैन । यदि, खसहरू भारतबाट आएका थिए भने भारतमा किन मस्टो मानिँदैन ?

पश्चिमा ज्ञानको तर्कले कुनै पनि चिज एक ठाउँमा विकास भएर अन्यत्र फैलिन्छ भन्ने ठान्छ । हाम्रो ज्ञानको अनुवाद पनि त्यसरी नै भएको छ । तर, हामीसँग मल्टिपल रियालिटी पनि त हुन सक्छ । अर्थात्, मानिस फरक ठाउँमा फरक तरिकाले विकास भएर कालान्तरमा अन्तरघुलन पनि भएका हुन सक्छन् ।

यस तर्कका आधारमा हेर्दा कर्णालीमा मस्टो मान्ने परम्पराजस्ता विशिष्ट संस्कृति छन्, जो यहाँबाट अन्यत्र फैलियो । यहाँभन्दा पहिले यो संस्कृति अन्यत्र मानिएको प्रमाण भेटिँदैन । यसले प्राचीनकालदेखि नै कर्णालीमा खसहरू थिए भन्ने देखिन्छ ।

विकास र विस्तार : उत्कर्षमा छँदा खस साम्राज्य पश्चिममा कुमाउ–गढवाल र पूर्वमा त्रिशूली किनारसम्म, उत्तरमा गुगेदेखि दक्षिणमा गयासम्म फैलिएको थियो । सभ्यता हुनका लागि चाहिने आधार : शासन सत्ताको प्रणाली, न्याय प्रणाली, धर्म–संस्कृति, व्यापार–व्यवसायको सीप यहाँ विकास भएको देखिन्छ ।

यसका लिखत, प्रमाण र दस्तावेज छन् । यस साम्राज्यभित्र मगर, गुरुङ, रावलहरूलाई आफ्नो अन्तर्गत रहेर राज्य सञ्चालन गर्न दिइएको प्रमाण छ । खस सम्राट्हरूले नै उनीहरूको संरक्षणको जिम्मा लिएका थिए । दस्तावेज र शिलाहरूमा खस भाषा अहिले पनि देखिन्छ ।

अशोक मल्लको समयमा लेखिएको दुल्लुको शिलालेख (वि.सं.१३१२ देखि १३३५) तथा हुम्लाको रलिङ गुम्बामा रहेको ताम्रपत्र नेपाली भाषामा लेखिएका प्राचीनतम अभिलेख मानिन्छन् । खस साम्राज्यका राजकीय आदेश, दानपत्र र कीर्तिस्तम्भ पनि सुरक्षित छन्, तर जति अध्ययन र अनुसन्धान हुनुपर्ने हो, त्यो भएको छैन ।

काठमाडौंमा प्रभाव : त्रिशूली किनारसम्म फैलिएको खस साम्राज्यले काठमाडौंमा पनि आफ्नो प्रभाव जमाएको थियो । यसको अर्थ सम्राट्हरूमा काठमाडौं कब्जा गर्ने महत्वाकांक्षासमेत थियो । जितारी मल्ल, रिपु मल्ल र पृथ्वी मल्लले यस्तो महत्वाकांक्षा राखेका थिए । उनीहरूले काठमाडौंमा चारनाथको दर्शन गर्ने परम्परा विकास गरेका थिए ।

पशुपतिनाथ, स्वयंभूनाथ, बौद्धनाथ र मच्छिन्द्रनाथमा हरेकपटक आएर दर्शन गर्ने र यहाँ बस्ने गरेका थिए । त्यही समयमा उनीहरूसँगै आएका केही मानिस काठमाडौंमै बसोवास गर्न थाले । यसले काठमाडौंमा उनीहरूको प्रभाव थियो र सीमा विस्तार गर्ने महत्वाकांक्षा राखेका थिए भन्ने संकेत गर्छ ।

चौधौँ शताब्दीपछि विस्तारै खस साम्राज्य टुक्रिन थाल्यो । पश्चिमतिर डोटी टुक्रियो, आन्तरिक रूपमा यसले कलह जन्मायो । अन्तिम खस राजाका ज्वाइँ मेदिनी बर्माले आफ्नो भूभाग चारवटा छोरा र एक छोरीलाई बाँडिदिए । बिस्तारै खस साम्राज्य मक्किन सुरु भएर जुम्लामा कल्याल वंशको शासन सुरु भयो । त्यसपछि बाइसे–चौबीसे राज्य देखापरे । खस साम्राज्यको विरासत मक्किएसँगै यहाँको भाषा र संस्कृतिको संरक्षणमा पनि कमी भयो ।

धार्मिक सद्भाव : खस साम्राज्यमा बौद्ध र हिन्दु मत दुवै एकदमै मज्जाले गइरहेको देखिन्छ । किनकि नागराज आफैँ पनि गुम्बामा दीक्षित भएर आएका थिए । यसबाहेक बौद्ध धर्मको प्रचार गर्ने गुरु दिपांकर (जसले सुवर्ण भूमि भनिने थाइल्यान्ड र जाभा सुमात्रासम्म बौद्ध धर्मको प्रचार गरे) कर्णालीकै गुम्बामा तीन वर्ष बसेर अध्ययन गरेका थिए ।

उनले त्यहाँ ‘बोधी प्रज्ञा प्रदीप्त’ भन्ने पुस्तक नै लेखेका छन् । आज पनि तिब्बतमा उनको पुस्तक बौद्ध धर्मको अमूल्य ग्रन्थ मानिन्छ । हामीले त्यसलाई राम्ररी व्याख्या पनि गर्न सकेका छैनौँ । तर, केही विदेशी अन्वेषकले त्यसलाई स्थापित गर्न खोजेका छन् । खस साम्राज्यबारे पिएचडी गरेका सूर्यमणि अधिकारीको काममा यो कुरा उल्लेख छ ।

खस साम्राज्यकालमा अयोध्या र मानसरोवरबीच राम्रो कनेक्टिभिटी थियो । बौद्ध धर्मको प्रभाव विस्तारमा यो रुटले ठूलो भूमिका खेलेको थियो । काशी–बनारस जाने, अयोध्यासँग जोडिने, धेरै योगी र साधुसन्त यो बाटो हुँदै जाने गर्दथे । सन्त चन्दननाथले नै मानसरोवर जाने क्रममा जुम्लामा मार्सी धान फलाउन सिकाएका थिए । त्यहीकारण आज उनको सम्झनामा यहाँ चन्दननाथ मन्दिर छ ।

यस बाटोमा विशिष्ट मानिसहरूको आवागमन हुने भएकाले राम्रा बाटाहरू बनेका थिए । उक्त समयमा ती मार्गहरू राजमार्ग नै मानिन्थे । घोडा मज्जाले कुदाउन मिल्ने, फराकिलो सिढी भएका बाटाहरू थिए ।

मैले इतिहास खोतल्ने क्रममा दुल्लुदेखि जुम्लासम्म ७ चोटी यात्रा गरेको छु । यसलाई विदेशी अध्येताहरूले हाइवे भनेका छन् । इन्जिन गाडीको विकास नभइसकेको उक्त समय यी मार्गहरू हिमाल वारपार गर्ने एक मात्रै माध्यम थिए । सरकारी सेना, राजकीय गतिविधि, तीर्थयात्री, कूटनीतिक रूपमा ती बाटाहरूको प्रयोग भइरहेको थियो ।

सम्भवतः भूकम्पले यो रुटमा धेरै क्षति पुर्‍यायो । त्यससँगै जुध्ने सामर्थ्य र मानवीय संसाधन टुक्रिएका राज्यहरूसँग थिएन । छिमेकमा पनि भूकम्पको असर ठूलै परेकाले कनेक्टिभिटीमा समस्या पुग्यो । कर्णाली आइसोलेटेड भयो ।

(हामीले उक्त सामाग्री, नयाँ पत्रिका दैनिकबाट सभार गरेका हाैं )