सुर्खेत । कर्णालीमा प्रदेशस्तरीय लगानी सम्मेलन गरिने भएको छ । प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले आवश्यक तयारी समेत थालेको छ ।
प्रदेश योजना आयोगको वीरेन्द्रनगरमा बसेको ७८ औं बैठकले प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले जानकारी दिए ।
आगामी २०७८ वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने सदस्य डा. रोकायले बताए ।
प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाहरुको आकर्षण बढाउन प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गरिने उनको भनाई छ ।
परियोजना बैंकको काम सकिएपछि लगानी सम्मेलन आयोजना हुने भएकाले कर्णालीमा सम्मेलन आयोजना गर्न योजना आयोगले तयारी शुरु गरेको हो ।
बैठकले कर्णाली प्रदेश विकास परिषद्को बैठकको संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाया तथा कर्णाली प्रदेशस्तरीय लगानी सम्मेलनका लागि संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिएको छ ।
प्रदेश विकास परिषद्को बैठक चैतमा
कर्णाली प्रदेश विकास परिषद्को बैठक आगामी चैतमा आयोजना गरिने भएको छ ।
२०७७ चैतमा आयोजना गरिने कर्णाली प्रदेश विकास परिषद् बैठकमा एकरुपता लिनका लागि पञ्चवर्षीय योजनाको जानकारी गराइने प्रदेश योजना आयोगका सदस्य डा. रोकायाले जानकारी दिए ।
उनका अनुसार विकास परिषद् बैठकमा स्थानीय तहको आवाधिक योजना निर्माणका लागि सहजीकरण, प्रदेश महत्वको आयोजनाको अध्यावधि गर्न छलफल गरिने छ ।
त्यस्तै बैठकमा प्रदेश समसामयिक विकाससम्बन्धी समस्याको समाधानका लागि छलफल गर्ने, प्रदेश र स्थानीय तहबीच साझेदारी गर्ने लगायत विषयमा छलफल हुने रोकायाले जानकारी दिए ।