गुराँस प्रजातिको दुर्लभ सूचीमा रहेको चिमाल २२ वर्षपछि उत्तरी मकवानपुरको दामनमा देखिएको छ।
करुणाभूमि सामुदायिक वनमा नयाँ प्रकारको फूल देखेपछि थाहा नगरपालिका-४ का वडाध्यक्ष विनोद लामाले वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरमा पठाएका थिए। यसको पहिचान गर्ने क्रममा दुर्लभ चिमाल भएको पत्ता लागेको केन्द्रका प्रमुख एवं वनस्पतिविज्ञ रघुराम पराजुलीले बताए।
थाहा नगरपालिका-४ स्थित महांकाल सामुदायिक वन क्षेत्रमा पनि चिमाल देखिएको हो। यसको संख्या भने न्यून रहेको पराजुलीले बताए। अन्य गुराँसभन्दा ढिलो गरी फूल्ने यसलाई गाउँघरतिर लहरे चिमाल पनि भनिन्छ।
उनका अनुसार यस प्रजातिको चिमालको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रन डालहाउजी’ हो। “यो क्षेत्रबाट २२ वर्षअघि पनि चिमाल संकलन गरिएको रहेछ,” पराजुलीले भने।
त्यस बाहेक २०६६ सालमा माईपोखरी सफा गर्ने क्रममा गलैंचे झ्याउसँगै टाँसिएर रहने सेतो चिमालको कृत्रिम प्रजनन गरिएको थियो। त्यति वेला चिमालको पनि कृत्रिम प्रजनन गरिएको उनले सुनाए। “चिमाल त्यति सजिलै र जहींतहीं पाइने प्रजाति भने होइन,” उनले भने।
नेपालमा पाइने वनस्पतिको अभिलेख राख्ने वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीको तथ्यांकमा देशका सात-आठ जिल्लामा चिमाल पाइने अभिलेख भएको पराजुलीले बताए। नेपालमा पाइने गुराँसका ३३ प्रजातिमध्ये अहिले दामनमा भेटिएको दुर्लभ प्रजाति भएको र यसबारे थप अध्ययन भइरहेको उनको भनाइ छ।
डेढ दशकअघि लेकाली क्षेत्रमा चिमालको अध्ययन गर्दा इलाम बाहेक अन्य जिल्लामा यो प्रजाति पाइएको थिएन। “इलामपछि मकवानपुरको दामनमा पाइयो,” पराजुलीले भने।
यो प्रजाति पहिलो पटक भारतको सिक्किममा पहिचान गरिएको थियो। हिमालय क्षेत्रको तल्लो तहको पाँच हजारदेखि नौ हजार फिटको उचाइमा पाइने चिमाल तिब्बत, भूटान, नेपाल र उत्तर-पूर्वी भारतको अरुणाचल प्रदेशमा पाइन्छ।
चिमालको हुर्किसकेको वयस्क बिरुवाको पात तीनदेखि आठ इन्च लामो र तीन इन्च चौडा हुन्छ। फूलको रङ सेतोसँगै क्रिम, फिक्का पहेंलो वा पहेंलो गुलाबीसम्म भिन्न भिन्न हुन्छ। यसको फूलबाट कागतीको जस्तै मन्द सुगन्ध आउँछ। यसको बास्नाले मान्छेलाई मात लाग्ने पराजुली सुनाउँछन्।
गुराँस भने मध्य र उच्च पहाडी क्षेत्रमा पाइन्छ। वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले पर्वतीय उद्यान, दामन र वनस्पति अनुसन्धान केन्द्र, इलामले माईपोखरीमा गुराँसका विभिन्न प्रजातिको संरक्षण गर्दै आएका छन्। मकवानपुरमै पनि ऋषेश्वर सामुदायिक वन उपभोक्ता समूहले सिमभन्ज्याङको दुई हेक्टर खाली क्षेत्रमा बिरुवा रोपेर गुराँस संरक्षण गरिरहेको छ।
स्थानीय बासिन्दाले चिमाललाई औषधिका रूपमा प्रयोग गर्छन्। सीमित संख्यामा रहेको चिमालको संरक्षण गर्नुपर्ने पराजुलीको भनाइ छ। उनका अनुसार कृत्रिम प्रजनन मार्फत चिमालको कटिङबाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ।
हिमाल खबरबाट साभार
कर्णाली टुडे । १० भाद्र २०८१, सोमबार ११:१८