दुई वर्षअघि ओपेनएआईले ‘च्याटजीपीटी’ सार्वजनिक गर्दा त्यसमा यति धेरै प्रयोगकर्ता झुम्मिए, क्षमताभन्दा बढी ट्राफिक (प्रयोगकर्ता) भएपछि ‘च्याटजीपीटी’ चलाउन साँच्चै लाइन लाग्नुपर्ने अवस्था आयो । छोटो समयमै ‘च्याटजीपीटी’ अहिले निकै परिष्कृत र एकसाथ अर्बौं ट्राफिक धान्न सक्ने गरी सशक्त भइसकेको छ ।
उही ओपेनएआईले समेत लगानी गरेको ‘नक्स एआई’ एप अहिले सिलिकन भ्यालीका लगानीकर्ताहरूको नजरमा छ । निर्माताहरू यसलाई कुल एक अर्ब ट्राफिक धान्ने गरी तयार पार्न लागिपरेका छन् ।
‘नक्स एआई’ यस्तो एप हो, जसले प्रयोगकर्ताका लागि आवश्यकताबमोजिम उबर वा कुनै पनि ‘राइड सेयरिङ एप’बाट क्याब तथा मोटरसाइकल बोलाइदिनेदेखि अनलाइनबाट पैसा तिरेर हलमा फिल्मको टिकट काटिदिन सक्छ । रेस्टुरेन्टमा फोन गरेर खाना मगाइदिने, इमेलको ‘रिप्लाई’ लेखेर पठाउने, कार्यालयको मिटिङ तय गर्ने वा स्मरण गराउनेसम्मका काममा यो एप तालिमप्राप्त छ ।
फोनमा कुरा गर्दा यसले ‘फलानोको तर्फबाट म नक्स एआई एसिसेस्ट बोलिरहेको छु’ भनेर प्रतिक्रिया दिने मात्र होइन, ‘अपोइन्टमेन्ट’ तथा बुकिङ पनि गरिदिन्छ ।
‘च्याटपीटीजी वा जेमिनाइ’जस्ता परम्परागत ‘एआई’ प्रविधिमा झैं ‘नक्स एआई’लाई ‘यसो गर, उसो गर’ भनेर कमान्ड (निर्देशन) दिइरहनु पनि पर्दैन । ‘पर्सनल एसिस्टेन्ट’ भएकाले यसले प्रयोगकर्ताको दैनिक जीवन र डिजिटल गतिविधिलाई एक पटक सरर नियालेर हरेक दिनको सम्पूर्ण कार्यतालिका आफैं तय गरिदिने क्षमता राख्छ । सजिलो गरी भन्दा, नेता वा मन्त्रीहरूका स्वकीय सचिवले झैं यो एपले प्रयोगकर्तालाई निजी सहायकको सम्पूर्ण सुविधा दिन्छ ।
‘नक्स एआई’ अहिले नेपालमा उपलब्ध छैन । संयोगवश, यो एप बनाउने इन्जिनियर चाहिँ नेपाली हुन्, आयुष पोखरेल । उनी अहिले २३ वर्षका भए । ‘नक्स एआई’की संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत, चिनियाँ मूलकी अमेरिकी नागरिक मली क्यान्टिलनको अगुवाइमा आयुषले ‘नक्स एआई’का लागि फाउन्डिङ इन्जिनियरका रूपमा काम गरिरहेका छन् ।
कम्पनीमा उनको ४ प्रतिशत भेस्टिङ स्टक (सेयर हिस्सा) सुनिश्चित छ । मली र आयुषको समूहले यो एप सेप्टेम्बरमा सार्वजनिक गर्ने योजना बनाएका छन् । हाल कम्पनीमा थप इन्जिनियर नियुक्त गर्ने र ‘ब्याक एन्ड’का काममा आफूहरू व्यस्त रहेको आयुषले बताए ।
सिलिकन भ्यालीको ‘स्टार्टअप’ संसार
गत डिसेम्बरमा क्यानडाको योर्क विश्वविद्यालयमा कम्प्युटर साइन्समा स्नातक तेस्रो वर्षको परीक्षाका लागि आयुष एकोहोरो पढिरहेका थिए । त्यहीबेला उनलाई क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्विद्यालयकी छात्रा, २० वर्षीया मली क्यान्टिलनको इमेल आयो । ‘म यस्तो–यस्तो गर्न खोज्दै छु तर टिम छैन, फन्ड पनि छैन, एप बनाउन चाहन्छु, हेल्प गर्न सक्छौ ?’ भनेर उनले सोधेकी थिइन् । आयुषले हुन्छ भनेपछि सुरुको एक महिना उनीहरू दुईले आ–आफ्नै ठाउँबाट ‘रिमोट वर्क’ गरे । एप बनेपछि आयुष टोरेन्टो छोडेर क्यालिफोर्नियातिर लागे ।
‘गिटहब, प्रोडक्टहन्ट, डेभपोस्टजस्ता वेबसाइट चहारेर मैले विश्वभरका तगडा–तगडा इन्जिनियरहरू जम्मा पारे, तीमध्ये एक थिए आयुष पोखरेल,’ मलीले बिजनेस ‘इनसाइडर’सँगको कुराकानीमा भनेकी छन्, ‘उनीहरू सबैलाई पालो अल्टो बोलाएर भुइँमै प्लास्टिकको बिछ्यौनामा बसेर काम गर्न आग्रह गरें, सबै तयार भए ।’ विद्यालय तहदेखि नै सूचना प्रविधि र उद्यमशीलतामा सक्रिय रहँदै आएकी र स्टान्डफोर्ड पढेकी मलीको सिलिकन भ्यालीमा राम्रै पहुँच थियो ।
उनले त्यहाँका लगानीकर्तालाई आफ्नो एप देखाइन् । ‘ओपेनएआई,ह्वाट्सएपका संस्थापकहरू तुरुन्तै लगानी गर्न तयार भए,’ आयुष भन्छन्, ‘केही समय हामीले ओपेनएआईकै कार्यालयमाबसेर नक्सको काम गर्न पायौं । अहिले यसको प्राइभेट बेटा टेस्टिङ भइरहेको छ । चलाउन चाहनेको वेट लिस्टमा २ लाखजति पुगेका छन् ।’
स्थानीय सञ्चार माध्यमहरूमा नक्सबारे चर्चा भएपछि यसमा लगानी गर्नेको ओइरो लागेको मलीले बिजनेस ‘इन्साइडर’लाई बताएकी छन् । आफूले एकपछि अर्को चेक प्राप्त गरिरहेको उनको दाबी छ ।
आयुषले पनि इच्छुक लगानीकर्ता प्रशस्त भए पनि आफूहरूले थप लगानी आवश्यक नपरेको भन्दै टार्ने गरेको बताए । ‘लगानी गर्न दिनु भनेको हाम्रो कम्पनी डाइलुट हुनु हो, अहिले हामीलाई थप लगानी चाहिएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘कम्पनीको भ्यालुएसन ६० मिलियन डलर पुगेको छ । अहिलेलाई यति नै ठीक छ ।’ उनका अनुसार हाल नक्समा ‘ओपेनएआई स्टार्टअप फन्ड’ले १० लाख डलरसहित सिलिकन भ्यालीका एन्जल भेन्चर क्यापिटलिस्टहरूले लगानी गरेका छन् ।
सीईओ बन्ने सपना
नक्सको काम त छँदै छ, आयुषले आफ्नै एउटा कम्पनी पनि खोल्न चाहेका छन् । यसका लागि प्रोडक्ट अर्थात् एप बनाइसकेको बताए । अमेरिकामा थेरापिस्टहरूको माग धेरै भए पनि शुल्क महँगो हुने समस्या रहेको र आफूहरूले त्यसलाई सस्तो र छरितो बनाउन खोजिरहेको आयुषको भनाइ छ ।
अस्ट्रियाकी लिलियन होलरसँग मिलेर उनले ‘थेरापिस्ट र क्लाइन्ट’लाई जोड्ने एप ‘अनस्टक’ बनाएका छन् । ‘एआई इन्टिग्रेट’ गरिएको यो एपमा प्रयोगकर्ताले कुनै पनि बेला आफ्ना समस्या रेकर्ड गराउन सक्छन्, एपले ती समस्या पहिल्याएर रिपोर्ट तयार पार्छ र त्यो ‘रिपोर्ट थेरापिस्ट’ले हेरेर क्लाइन्टलाई आवश्यक सल्लाह–सुझाव दिन्छन् ।
‘यो एपको पनि राम्रो माग छ, यसबाट हामीले महिनाको ५ हजार डलर आम्दानी गर्न थालिसकेका छौं,’ आयुष भन्छन्, ‘सब्स्क्रिप्सनबापतको आम्दानी हो । यो एप पनि सार्वजनिक भएको छैन, बेटा भर्सन मात्रै बनेको छ । तर प्रयोगकर्ताले सदस्य बन्छु भनेर पैसा तिरिरहेका छन् ।’ एपमार्फत महिनाको न्यूनतम ५/६ डलरमै थेरापी सेवा लिन पाइने भएकाले प्रयोगकर्ताको रोजाइमा परेको उनको अनुमान छ । हाल एपबाट ‘अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर’ (ओसीडी) का बिरामीले मात्रै थेरापी सेवा लिन पाउने भए पनि बिस्तारै अन्य थेरापिस्टलाई यसमा सामेल गराउने उनीहरूको योजना छ ।
‘नक्स र अनस्टक दुवै एप चल्लान्जस्तो छ, एक/दुई वर्षअघि भइदिएको भए म नक्समै बस्थें तर अब मलाई इन्जिनियरमा सीमित हुनु छैन, सीईओ बन्नु छ,’ आयुष भन्छन्, ‘त्यसैले, दुईमध्ये एउटा रोज्नुपर्यो भने म अनस्टक रोज्छु किनभने यसमा म सीईओ हुँ ।’
सिलिकन भ्यालीका फेसबुक, युट्युब, गुगलजस्ता ठूला कम्पनीका माथिल्लो पदमा काम गर्ने नेपालीहरू भेटे पनि त्यहाँको स्टार्टअप क्षेत्रमा भने नेपालीहरू खासै नभएको आयुषको बुझाइ छ । आफू जागिरेभन्दा उद्यमी बन्न चाहेको बताए । ‘स्थिर जागिर खाँदा जोखिम कम हुन्छ र इनाम पनि कमै हुन्छ,’ उनले भने, ‘स्टार्टअप भनेको जोखिमपूर्ण काम हो, यो सफल पनि हुन सक्छ, असफल पनि, जिरो पनि हुन सक्छ, सय पनि हुन सक्छ । म यही जोखिम मोल्न खोज्दै छु ।’
एकपछि अर्को एप
आयुषले ६/७ वर्षअघि नेपालमा छँदै पहिलो एप बनाएका थिए– फोन एमएल । ‘इमेज रेकग्निसन बेस्ड मसिन लर्निङ एप’ थियो त्यो । त्यसले तस्बिर वा भिडियो हेरेर सामान वा चिजबिजको नाम भन्दिन्थ्यो । त्यसपछि उनले हरेक महिना/दुई महिनामा नयाँ–नयाँ एप बनाएर ‘मार्केट प्लेस’मा रिलिज गर्न थाले ।
युट्युबमा विज्ञापन ब्लक गरिदिने उनको एप हाल ५० हजार डिभाइसमा ‘डाउनलोड’ भएको छ । कक्षा ५ सम्म काठमाडौंको बुढानीलकण्ठ स्कुल र त्यसपछि गैंडाकोट, नवलपरासीको बाल विकास स्कुल अफ साइन्स एन्ड म्यानेजमेन्टमा पढेका आयुष कक्षा ११ मा छँदा क्यानडा गएका थिए ।
क्यानडा गएपछि पनि उनले एप बनाउने रुचिलाई निरन्तरता दिए । उनले बनाएको योर्क विश्वविद्यालयको एप पनि ५० हजारले डाउडलोड गरेका छन् । आफ्नै रहरले ‘योर्क युनि’ नामक एप बनाएका उनले त्यसमा म्यापसमेत राखेर, कहाँनिर कुन कक्षा छ भन्ने जस्ता विवरण राखेका छन् ।
‘धेरैवटा एप बनाएको छु, मेन्टेन गर्न समय नपाएकाले कतिपय एप हटाइसकें,’ उनी भन्छन्, ‘एपहरू मेरा लागि सानो–सानो खाल्डो खनेजस्तो भए । १६ वटा खाल्डो खन्नुभन्दा बरु एउटा इनारै खन्छु भनेर नक्समा जोडिएको हुँ । नक्स ठूलो इनार र अनस्टक चाहिँ सानो इनार हो मेरो ।’
‘नक्स र अनस्टक’मध्ये जुनसुकै एउटा प्रोजेक्ट स्थिर भएपछि आयुषले एक पटक नेपाल आउने योजना बनाएका छन् । यहाँ आएर आफूले जानेका कुराहरू सेयर गरेर फर्किने उनको चाहना छ । ‘काम गर्ने गरी अहिले आउँदिन किनभने नेपालमा आवश्यक पूर्वाधार बनिसकेका छैनन्,’ उनले भने, ‘स्टार्टअपहरू कम छन्, पर्याप्त फन्डिङ पाइँदैन, लगानीकर्ताहरू धेरै छैनन्, यसले गर्दा बजार बढेको छैन । अबको पाँच/दस वर्षमा बजार बढ्न सक्छ, त्यसपछि म पनि नेपालमा कम्पनी विस्तार गर्ने गरी आउँछु कि, के थाहा ?’
कान्तिपुर दैनिकबाट साभार
कर्णाली टुडे । २२ श्रावण २०८१, मंगलवार १३:२३