चाडपर्वमा शाकाहारीलाई गिठ्ठा र भ्याकुर

२०७७, १५ कार्तिक शनिबार १०:४९

दशैं तिहार जस्ता चाडपर्वमा धेरैको भान्सामा पाक्ने मीठो परिकार हो, मासु । यही बेला नेपाली समाजले अत्याधिक मासु खपत गर्छ । चाहे पाहुनालाई सत्कार गर्न होस् वा पाहुना लाग्न जाँदा, मासुको परिकार अनिवार्य जस्तै हुन्छ ।

अलि मनमनितो गर्न परेमा पनि आगन्तुकलाई मासु ख्वाउने प्रचलन छ । त्यसो भए मासु नै नखानेका लागि चाहि के त ?

यो प्रश्नले बेलाबखत निकै असजिलो बनाइदिन्छ । जब कसको घरमा पाहुना लाग्न गइन्छ, मासु पकाउने सुरसार हुन्छ । त्यसबेला शाकाहारीले भन्नैपर्ने हुन्छ, ‘मेरो लागि दुःख नगर्नु होला । म मासु खान्न ।’ यसो भन्दा त्यती शोभनिय त लाग्दैन तर भन्नैपर्ने बाध्यता हुन्छ ।

अर्कोतिर मासु पकाउने सुरसार भइसकेपछि त्यसको विकल्पमा के त ? घरमुलीका लागि असजिलो स्थिती आइलाग्छ ।

चाडपर्व, भोजभत्तेर वा कुनै जमघटमा पुगेपछि मासुजन्य परिकार खोजिन्छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने चाहि तपाईंले केही प्रश्नको सामना गर्नैपर्छ ।

जस्तो कि, ‘अहो, मासु खानुहुन्न । कहिलेदेखि ?’

‘किन छाड्नुभो ?’

‘जन्मजात नै हो कि पछि छाडियो ?’

‘कुनै धर्मकर्ममा पो लाग्नुभयो कि ?’

यस वर्ष कोरोना भाइरसका कारण अघिल्लो वर्षकोभन्दा केही भिन्न थियो दशैं । तर दशैं लागेसँगै चिनेजानेकाको जिज्ञासामा कुनै फरकपन देखिँदैन’थ्यो । सबैमा अनवरत एउटा जिज्ञासाले घर बसालेको हुन्छ के शाकाहारीको लागि पनि मांसाहारीको लागि जस्तै सहज छ दशैं ?

यो साल प्रश्न एउटै भए पनि उत्तर फरक थियो । यो वर्षको लागि मासुको बदलामा गिठ्ठा र भ्याकुरको बन्दोबस्त मिलेको थियो । यी दुवै आफैँमा पौष्टिकताले भरिपूर्ण कन्दमुल थिए । भ्याकुर र बोडीको तरकारीसँग गिठ्ठाको अचारले आफैँमा स्वादिष्ट परिकार बनाउन सकिन्छ । त्यसो त शाकाहारीका लागि पनि दशैंमा खाने विशेष परिकारहरु छन् । कसैले पनिरसँग आफ्नो दशैं मनाएका हुन्छन् त कसैले गाउँघरमा तयार भएका विभिन्न किसिमका ताजा तरकारी खाएर दशैं मानिरहेका हुन्छन् । यसरी नै प्रकृतिले दिएका ताजा तरकारी वा दुग्ध परिकारसँगै बित्छ अधिकांश शाकाहारीको दशैं ।

दशैंको महत्व मासु कि अरू नै ?

दशैंको महत्व कुन कुरामा छ ? भनेर कसैले सोध्यो भने यसको उत्तर पाउन मुस्किल छ । कसैले विजयादशमीको दिन लगाइने टीका र ठूलाबाट लिने आशीर्वादलाई दशैंको महत्वपूर्ण पक्षको रुपमा मान्छन् भने कसैले नवदूर्गा पूजा र त्यसमा दिइने बलीरुपि प्रसादलाई महत्व दिन्छन् । धार्मिक हिसाबले टीका र बलीलाई महत्व दिइए पनि सामाजिक हिसाबमा हेर्दा कसैको लागि यो परिवारका सदस्य भेट हुने एउटा बहाना पनि हो । एकसरो लुगामा वर्ष गुजारेकाहरुको लागि यो एकसरो कपडा फेर्ने पर्व हो । वर्षभरि घरपरिवारबाट टाढा भएकाहरूको लागि जमघटको पर्व हो भने ऋण नै गरेर भए पनि पेटभरि मासु खाने पर्व पनि हो । यो आ–आफ्नै हिसाबले भिन्दाभिन्दै विशेषताका कारण महत्वपूर्ण छ ।

तर दशैंमा महत्वपूर्ण मानिएको बलीको चलनलाई पशुबलीसँगमात्रै जोड्नु भने न्यायसंगत हुने छैन । पशुबलीलाई समेत महत्वपूर्ण मान्दै लामो इतिहास बोकेको यो पर्वमा मांसलाई पनि धेरै महत्व दिने गरिन्छ । देशभरका अधिकांश कोट र दशैंघरहरूमा पशुबलीलाई नै अनिवार्य गरिएको छ । तर के शाकाहारीहरू बलीको प्रसाद खानबाट बञ्चित नै हुन्छन् त ?

शास्त्रले शाकाहारीको लागि पनि छुट्टै विधान उल्लेख गरेको छ । प्राचीन पूर्वीय शास्त्रमा सात्विक र तामसी बलीको व्यवस्था गरिएको छ । पाँच किसिमको बली दिइने देवीलाई पनि त्यसको प्रतीकात्मक सात्विक बली दिने चलन पनि छ । जस्तो कुभिण्डोलाई राँगाको प्रतीक मानेर बली दिने गरिन्छ । त्यस्तै, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा बली दिने गरिन्छ । यसको अर्थ शाकाहारीको लागि पनि देवीको प्रसाद खाने सात्विक उपाय शास्त्रमा उल्लेख छ । त्यसैले धेरै शाकाहारीको दशैं सात्विक बली र त्यस्तै खानेकुराको आधारमा चल्ने गरेको मान्न सकिन्छ ।

२०७७ सालको दशैंसँगै जिभ्रोले मासुको स्वाद पाउन छाडेको १७ वर्ष पूरा भइसकेको छ । सुरुका केही वर्षतिरसम्म त मासुको स्वादले कहिलेकाहीँ मानसपटलमा झक्झक्याउने गर्दथ्यो । तर अहिले मासुको स्वाद स्मृतिपटलबाट समेत हराइसकेको छ । पूर्ण शाकाहारी भएको पनि १० वर्ष नाघिसकेको छ ।

ती १० वटा दशैंमा घरमा पाक्ने परिकारले कहिलै पनि दशैंको झल्को आउन दिएन । बरु एउटा सात्विक दुनियाँमा भुलाउँदै लग्यो । शाकाहारीको लागि दशैंमा अरू सबै विधिविधान एउटै हो । नवदुर्गाको नाममा चढाइने बली सात्विक राख्ने या तामसी राख्ने भन्ने फरकले नै शाकाहारी र मांसाहारीको दशैंमा भेद छुटउने गरिन्छ ।

देवीको लागि कुपिण्डो काट्नेहरूमध्ये धेरैले त्यही कुपिण्डोलाई देवीको प्रसाद मानेर खाने गर्छन् । तर खानामा मासु जस्तै पोषणयुक्त अरु वैकल्पिक तरकारीको व्यवस्था गरिएको हुन्छ ।

मासुले कति फाइदा, शाकाहारी खानाले कति ?

मांसाहार बढी फाइदाजनक कि शाकाहार ? यो सधैंभरि चलिरहने बहस हो । तर पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याका कारण मान्छेले आफैं शाकाहारी जीवनशैली अपनाउने गर्छन् । मासु नखानेको लागि पनि पोषणका अन्य वैकल्पिक तरिकाहरू छन् । त्यसैले मासु खानु र नखानुलाई फाइदा र घाटाको हिसाबले हेर्नु आफैँमा कठिन छ ।

विश्वको कुल जनसंख्याको ८५ प्रतिशतभन्दा धेरै मान्छेको रुचि मासुमा छ भन्ने विभिन्न अन्तराष्ट्रिय अध्ययनले देखाएको छ । जसमध्ये विकसित देशका नागरिकहरूको आहारामा ३० प्रतिशत हिस्सा मासुले ओगटेको छ भने मासुसँगै जोडिएको पशुपन्छीपालन तथा यसको आहार, औषधि उपचार तथा मासुको कारोबारले ओगट्ने अर्थतन्त्रको हिस्सा ठूलो हुनुले पनि धेरै मान्छे मांसाहार छन् भन्न सक्ने आधार देखाउँछ । तर मासु निर्विकल्प पोषणयुक्त खाना भने होइन ।

दसैंमा शाकाहारीले भोग्नुपर्ने पीडा

मांसाहार बाहुल्य समाजमा शाकाहारी बनेर बस्नुको पीडा आआफ्नै हुन्छ । मासु खान छाडेको डेढ दशकपछिसम्म आइपुग्दा शाकाहारी भएकै कारण भोग्नुपर्ने पीडा तुलनात्मक रुपमा कम हुने गरेको छ ।

विजयादशमीको दिन टीका लगाउने जाने आफन्तकोमा पुगेपछि केही प्रसाद लिएर जानुपर्ने पूर्वीय मान्यता छ । तर त्यही प्रसाद मासु राखिदिए भने के होला शाकाहारीको हालत ? यही समस्या सुरुवातका केही वर्ष भोग्नु नपरेको पनि होइन । तर पछिल्ला केही वर्षदेखि भने यस्ता समस्या कम हुँदै छन् । बाहाना जे सुकै होस्, शाकाहारीको संख्या विश्वमा दिनप्रतिदिन बढ्दै छन् । जसले गर्दा पनि यस्ता समस्याहरू समेत कम हुँदै गएका छन् । घरमा आफू मात्रै शाकाहारी बन्दा छोइछिटोको समस्या र पाकवानको समस्या पनि धेरैमा देखिने समस्या हो । तर यस्ता समस्याहरू बिस्तारै कम हुँदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिर्गौला सुरक्षित राख्ने सामान्य काइदा

२०७७, १५ कार्तिक शनिबार १०:४९
मिर्गौलाकोे काम शरीरमा रगतलाई शुद्धिकरण गर्नु हो । जब मिर्गौलाको कार्यक्षमतामा ह«ास आउँछ, शरीर विषाक्त बन्छ । एकपछि अर्को अंगमाथि भार थपिन्छ । अन्ततः समग्र शरीर नै कमजोर र रोगी हुन्छ । मिर्गौला रोग लागेपछि उपचार झन्झटिलो हुन्छ । झन्झटिलो मात्र होइन, खर्चिलो पनि । खर्चिलो मात्र होइन, कतिपय अवस्थामा […]