कालिकोटमा भारी वर्षासँगै लेकाली भेकहरुमा हिमपात

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २० पुष सोमबार १३:१७

बिस्नप्रसाद न्याैपाने

कालिकोट  ।  कालिकोटमा भारी वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ । लामो समयदेखि वर्षा नहुँदा चिन्तामा रहेका किसान आइतबार रातभर भारी वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् ।

जिल्लाका लेकाली भेकहरुमा हिमपात र वर्षाले चिसो अत्याधिक रुपमा बढेको छ । चिसोका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् । हिमपातले चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु निकै कम छन् ।लामो समयदेखि खडेरीको मार खेप्दै आएका जिल्लाका कृषक पुस महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटेका छन् ।

जिल्लाका अधिकांश पाखो जमिन वर्षा नहुँदा बाँझो थियो । अब पाखो बारीमा पनि गहुँ छर्ने तयारी रहेको स्थानीय कृषक अदानसिंह बोहोराले बताए । उनकाअनुसार गहुँ छर्ने सिजन जाने बेला भएपनि वर्षा भएकाले बारी बाझो राख्नुभन्दा बाली लगाउने तयारी गरिएको बताए ।

पुसमा भएको हिमपातले जिल्लाका स्याउ किसान थप उत्साहित भएका छन् । स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले जिल्लामा व्यवसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन् ।

जिल्लाको तिलागुफा नगरपालिका २ फोइका स्या किसान तथा नर्सरी धनी वेगमबहादुर शाहीले जिल्लामा हिमपात भएसँगै यस वर्ष स्याउ उत्पादनमा वृद्धि हुने बताए । वर्षेनि खडेरी पर्दा आफूहरुको उत्पादनमा ह्रास आइरहेका बेला यसवर्ष यसरी नियमित वर्षा र हिमपात भएपछि स्याउ उत्पादन वृद्धि हुने उनको विश्वास छ ।

जिल्ला कृषि विकास कार्यालय प्रमुख भरतकुमार बस्नेतले जिल्लाको लेकाली भेकहरुमा भारी हिमपात भएसँगै स्याउ खेतीलाई ठूलो राहत भएको बताए । उनले भने, हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरुमा पनि कमी आउने हुन्छ।

परापूर्वकालमा कात्तिक, मंसिरमै हुने हिमपात यस वर्ष ढिलो भएपनि किसानका लागि ठूलो राहत भएको छ । जिल्लाको सबै स्थानीय तहमा गरी करीब ६ हजार हेक्टर गहुँ खेती हुने पाखो जमिन बाँझै थियो । कृषि प्राविधिक प्रशुराम काफ्लेले भने, ‘आकाकशे पानीको भरमा खेती हुने पाखोबारीहरु बाझै थियो । अब खेती लाग्छ ।’ उनले विगत केही वर्षयता मंसिरमा छरिसक्नुपर्ने गहुँ समयमै वर्षा नहुँदा किसानले पुस, माघ र फागुनमा समेत छर्ने गरेको बताए ।

अन्नपूर्ण पाेष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लाे २४ घण्टामा जुम्लामा धेरै वर्षा, बुधबारसम्म मौसम बदली हुने

२०७७, २० पुष सोमबार १३:१७
सुर्खेत ।  सोमबार बिहानैदेखि देशभरको मौसममा बदली भएको छ। मौसम बदलीसँगै देशभर चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी भेगका साथै हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। त्यस्तै, हाल हाल कर्णाली प्रदेशको पहाडी भागका […]