एक सप्को सारीको भ्रम!

कर्णाली टुडे
कर्णालीटुडे २०७७, ११ पुष शनिबार १२:११

भनिन्छ– संगीतको माधुर्यसामु फूल, पात र बिरुवा पनि नझुकिरहन सक्दैनन्।

संगीतको मलमले हृदयको नदेखिने घाउमा पनि आनन्द छरिदिन्छ।

मनोविद्हरूले त मानसिक तन्दुरुस्तीका लागि ‘संगीत थेरापी’ नै प्रयोग गर्न थालेका छन्। चिकित्सा विज्ञानमा संगीतको महत्त्व स्थापित हुँदै छ।

एकान्त होस् वा उत्सव, धेरैका लागि संगीत साथी बनिदिन्छ। भलै एकान्तीले एकसुरको संगीत रुचाउला र उत्सवमा रमाउनेका लागि उत्साहपूर्ण गीतले माहोल तताउला।

कसैलाई र्यापर भिटेन मन पर्ला जसका ‘शब्द’ धेरैका लागि सुन्नै नसकिने हुन्छन्। आफन्तीसँग बसेर हेर्नै नसकिने खालका छन्। यद्यपि हाम्रो नयाँ पुस्ताको रुचिबारे भिटेनको गीत ‘यात्रा’ ले संकेत गर्दछ– जसले पौने दुई करोड भ्युअर पाएको छ।

परिवार वा साना नानीबाबुसँग बसेर सुन्नै नसकिने भिटेनका गीतप्रतिको रुचिले समाजको एउटा पाटोलाई उजागर गर्छ नै। भिटेनको गायकीबारे यहाँ यति नै।

०००

नेपाली गीतसंगीतमा स्थापित नाम हो सत्यराज र स्वरुपराज आचार्य। यी दाजुभाइको पछिल्लो ‘मैसाब’ले केही समय चर्चा कमायो र सेलायो।

गीत किन सेलाउँछन्? कुनै समय गीतकार तथा साहित्यकार राजेन्द्र थापाले भनेका थिए– ‘उपलब्धताको सहजता। अर्थात् सूचना, संगीत र मनोरञ्जनका लागि रेडियो नेपालमा मात्रै भर पर्नुपर्ने जमाना अब रहेन। मानिसका हातहातमा मन लागेको बेला रोजीछाडी संसारभरका सूचना र संगीत सुन्न पाउने सुविधा छ।’

उनको भनाइमा आजको समयमा कुनै गीत तीन साता चल्यो भने पनि त्यो ठूलो उपलब्धि हो।

हो, प्रविधिको पहुँचले पत्रकारिता पनि ‘ब्लक बोकेर तस्बिर छाप्ने, फलामे अक्षर मिलाएर छापाखानाबाट समाचार छाप्ने’ अनुभव क्षणभरमै भिडियोसहित आम बनाउन सकिने बिजुली पत्रकारितामा परिणत भएको छ।

र पनि पत्रकारिताको धर्म, मर्म र मर्यादा भने धेरै बदलिएको छैन। ठिक त्यस्तै गीतको पनि मर्म, भाव, गाम्भीर्यले महत्त्व राख्नुपर्ने हो। तर आज ‘मेरो गीत कुन ‘क्लब’मा पर्‍यो’ भन्ने विषय प्रधान बनेको छ।

अर्थात् व्यक्तिपिच्छे बनेका युट्युबमा कुन गीतले कति हजार, कति लाख वा करोड ‘भ्युअर्स’ पायो भन्ने विषय प्रमुख भइदिएको छ।

किन त यस्तो?

मोफसलमा बसेर नेपाली लोकसंगीतको दुनियामा छाएकी अग्रज गायिका हरिदेवी कोइराला भन्छिन्, ‘त्यसबेलाको गीतसंगीतमा सुर हुन्थ्यो, ताल हुन्थ्यो, शब्द हुन्थ्यो, भाव हुन्थ्यो, एउटै गीतमा सयौंपटक साधना गरिएको हुन्थ्यो। रचनाकार, संगीतकार, गायक, वाद्यवादक एकै थलोमा बसेर उत्सव जस्तै सम्झेर बढो मिहिनेतका साथ गीत जन्माउँथे।’

उनका शब्दमा आजको गीतसंगीत बढी प्राविधिक भएको छ। आवाजदेखि वाद्यवादनसमेतमा प्रविधिको प्रभाव हुन्छ। अनि त्यो स्वाद ‘लोकल’ होइन ‘ब्रोइलर’ भइदिन्छ।

अग्रजहरुका मत आ–आफ्नै ठाउँमा होलान्। तर गीतसंगीतलाई जीवनको ‘लौरो’ बनाएका साधकहरुले कम्तीमा संगीतप्रति ‘थोरै न्याय’ गरिदिनुपर्छ भन्ने मात्रै अभिप्राय हो।

प्रसंग फेरि पनि ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’को।

सत्यराज र स्वरुपराजकोे गायकीमाथि प्रश्न उठाउनु न्यायसंगत नहोला। तर, यिनै नामबाट ‘कब्बाली’ शैलीमा प्रस्तुत गीत ‘मैसाब’ हेरिसकेपछि भने कताकता खसखस लागेर आउँछ।

मैसाबले घाइते दिलमा आरा चलाइस्यो
लौ न नि के अचम्मको पारा चलाइस्यो
ऐया पनि भन्न नपाई मरिने भो सरकार
जालिम नजर कस्तो ज्यानमारा चलाइस्यो

सुकला र ज्युनार पनि गरिसिन्न अचेल
यो कस्तो मुलुकी ऐनको धारा चलाइस्यो
लौन नि के अचम्मको…

जहाँ जाऊँ मेरै कुरा काट्ने भए सबै
किन यसरी टोल बजारमा नारा चलाइस्यो
लौन नि के अचम्मको…

त्यो दिलमा मलाई नै राज होस् भनिस्यो
जुन भएर हजुरले छेउको तारा चलाइस्यो
लौन नि के अचम्मको…

रचनाकार अमृत खतिवडा, सत्य र स्वरुपको व्याख्या आफ्नै खालको होला। तर गीतको भिडियो जसरी प्रस्तुत गरिएको छ– त्यहाँ पल शाहको डबल रोल र चोकेला शेर्पाको सामान्य अभिनयबाहेक शब्दको प्रयोग झै ‘राजसी पारा’ कतै देखिँदैन।

एक विशाल महल वरिपरि (सायद कुनै तारे होटेल)को छायांकनबाहेक गीतमा ‘अति आदरार्थी शब्द’ को उपहास हो कि प्रचार बुझिँदैन।

गीतमा ‘दरबारिया’ शब्दहरु प्रयोग गरिए पनि न ‘मैसाब’ को हुकुमी दम्भ प्रस्तुत गर्न सकिएको देखिन्छ, न त दरबारी व्यवहार।

हुन त गीतसंगीत निको वा ननिको लाग्नु श्रोता–दर्शकको ‘मुड’ मा पनि भर पर्छ।

तर दृश्यसहितको गीतमा कम्तीमा संगीत कर्मका यात्रीहरुले सुर, शब्द र भिडियोको तालमेल हुनुपर्छ भन्ने मान्यता राखिदिऊन् भन्ने अपेक्षा हुन्छ।

०००

पछिल्लो समय गायिका मिलन नेवारको स्वरमा ‘फूलबुट्टे सारी’ चर्चामा छ। सुमधुर, कर्णप्रिय यो गीतमा गीतकार राजनराज सिवाकोटीका शब्द निकै सरल छन्। त्यहाँ कुनै क्लिष्टता छैन।

एक सप्को सारीको परिकल्पना गर्दै युवावयको भावलाई सिवाकोटीले सरल ढंगले बगाएका छन्।

तर जब नौ वर्षीया छोरी स्मारिकाले सारीको सप्को हाल्दै बनाएको भिडियो ‘टिकटक’ मा देखाइन् त्यसपछि ‘ओरिजिनल’ गीतको भिडियोप्रति तीव्र असहमति जाग्यो। दृश्यले शब्दलाई न्याय गरेको अनुभूति भएन।

नौ वर्षीया बालिकामा फुरेको ‘चेत’ किन भिडियो निर्देशन गर्ने राजेश पुमा राईदेखि सर्जक, गायक र निर्माण पक्षलाई फुरेन होला?

यहाँ या त ‘भ्युअर्स’को नाफा–घाटा निकालियो या त दर्शक–श्रोतालाई जे फालिदिए पनि चल्छ भन्ने ‘हेपाहा’ चेतले काम गर्‍यो।
होइन भने–

फूलबुट्टे सारी
सपक्क पारी
पछ्यौरी मलमलको

भनिरहँदा गीतकी अभिनेत्री मालिका महतलाई ‘वान पिस’ मा प्रस्तुत गरिने थिएन होला। गीतका शब्दले बोले झैं उनलाई सारीमै प्रस्तुत गरेर एक सप्को सारी ओढाइदिएको भए त्यसले शब्दमा केही न्याय गर्थ्यो कि भन्ने खसखस दर्शकलाई पारिदिएको छ।

कौसीमा बसी
तिमीलाई हेर्दा, मन मेरो हलचल भो
कान्छाको केश फिजारिएछ
काइँयोले चट्ट मिलाई दिऊँ कि

अभिनेत्री बसिरहेको कौसीलाई नेपाली शैलीको देखाउन सकिने अवसर हुँदाहुँदै निर्माण पक्षले आधुनिक भव्यताको प्रदर्शन गरेर ‘चर्चाको लोभ’ गरेको अडकल गर्न सकिन्छ।

नफिँजारिएकै भए पनि ‘कान्छाको केसमा काइँयो नलगाउँदा’ प्रेमिल जोडीबीचको आत्मीयतालाई गहन रुपमा प्रस्तुत गर्न भिडियो चुकेको छ।

रेशमी चुल्ठो ओढेर घुम्टो
मोहनी रंगमा भुलाइदिउँ कि?

भिडियोमा दर्शकलाई कतिसम्म ‘बेवकुफ’ बनाइएको छ भने– फिँजारिएका रेशमी कपालमा न त चुल्ठो बाटिएको छ न त घुम्टो ओढाइएको छ। बरु घुम्टोको साटो अभिनेत्रीले हुकको टोपीले शब्दको लाज छोपेकी छन्।

जाई फुली सक्यो, जुही फुली सक्यो
चमेली फुल्दै छ

म्युजिक भिडियोमा पल शाहको भव्यता पस्कनुबाहेक शब्दमा फुेलेका जाई, जुही र चमेली डाँडादेखि पर हिमालसम्म कतै फूल फूलेको देख्न पाइँदैन।

यो निर्माण युनिटले दर्शक–श्रोतालाई गरेको ‘अन्डरस्टिमेट’ नै हो।

सिर्जनालाई नै धर्म सम्झने स्रष्टाले त्यो धर्म निर्वाह गर्दा इमानदारी पनि देखाउनुपर्ने हो। शब्द एकातिर, गायन अर्कोतिर र दृश्य झन बेग्लैतिर हुनुले कसरी दर्शकश्रोतालाई न्याय गरेको भन्नु?

अन्त्यमा मेरी छोरीले टिकटकमा गरेजस्तै निर्माण पक्षले ‘जानी नजानी’ एक सप्को सारी अभिनेत्रीलाई ओढाएर दर्शक–श्रोतालाई ढाँट्ने कोसिस गरेका छन्।

यत्ति भनौं, पछिल्लो समय गीत, संगीत र सिर्जना ‘सुन’ बनिरहेका छन् तर सुगन्ध छुटेका।

 

  • नेपाल समयबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय परीक्षा बोर्डले खुलायो एसईईको आवेदन फारम, जेठमा परिक्षा गर्ने तयारी

२०७७, ११ पुष शनिबार १२:११
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ । २०७७ सालमा कक्षा १० मा […]

सम्बन्धित