मेरो कर्णाली, मेरो देश र मर्न थालेका सपनाहरु

जीतबहादुर शाह २०७७, ७ पुष मंगलवार १३:४९

समय थिएन । त्यही भएरै, काठमाण्डौंबाट नेपालगञ्ज हुदै एक रात घर बसेर भोलिपल्ट सुर्खेत जाने रहर हुँदाहुदै पनि सिधैं सुर्खेतका लागि बुद्ध एयरको टिकट लिएँ ।

विहान ८ बजे काठमाण्डौंको एयरपोर्ट पुगें । मंसीर महिना, मुलुकभरि हुस्सु लागेको कारणले जहाज भनेको समयमा कतै पनि उड्न नसकेर ल्फाइटहरु ढिला भइरहेका थिए ।

मैले साथीहरुलाई सुर्खेततिर हुस्सु हट्दै छ कि कस्तो छ भनेर सोधिरहेको पनि थिएँ । करिव साढे दुइघण्टाको पर्खाइपछि सुर्खेत पनि क्रमशः खुल्न थालेको थियो ।

अन्यत्र पनि कतै खुलिसकेको थियो भने कतै खुल्दै थियो । त्यतिबेलै बुद्ध एयरले मौषमको खरावीको कारणले सुर्खेतको ल्फाइट रद्ध गरेको सूचना प्रशारण ग¥यो । जव मौषम खराव थियो, त्यतिबेला रद्धको सूचना जारी गरेको भए यो मन त्यति दुख्ने थिएन ।

सुर्खेतको मौषम खुलिसकेपछि रद्धको सूचना आउदा भने मन साह्रै दुख्यो । कर्णालीबासी हुनुको अपमान एकपटक फेरि सहन गर्नुपर्ने भयो र गरें । मौषमको खरावी नभनेर अरु कुनै प्राविधिक कारण भनी टोपलेको भए यो बबुरोलाई त्यति पीडा हुने थिएन होला जति पिडा मौषम सफा भइसकेपछि मौषमको खरावी भनेर ल्फाइट रद्ध गर्दा भयो ।

कर्णालीप्रतिको दृष्टिकोण नै यस्तै छ सवैको, बुद्ध एयरको जस्तै । बाँडचुड पारेर पुगेन भने कर्णालीको भाग अर्कोपटक भनेर थामथुम पारिन्छ । बुद्ध एयरले पनि त्यसै ग¥यो ।

बुद्ध एयरको प्रतिष्पर्धा गर्ने पनि सुर्खेत एयरपोर्टमा अरु कोही छैन । उसकै एकाधिकार छ । विहान रद्ध गरेको भए त मानिसहरु नेपालगञ्जतिर हानिन्थे होला ।

साढे दशतिर रद्ध भनेपछि यात्रीहरुले त्यो दिन नेपालगञ्ज जानका लागि समेत टिकट पाएनन् । कर्णालीको भाग्यमा यस्ता घटना र परिघटनाहरु दोहोरिरहन्छन् पटकपटक ।

बुद्ध एयरले समेत कर्णालीलाई होचोअर्घेलो गर्ने यो तरिका अरुबाटै सिकेको हो । कर्णालीमा दरबन्दी राखेर केन्द्रीय राजधानीमा बस्ने डाक्टरलगायतका अन्य कर्मचारीहरुको भीड अहिले पनि उस्तै छ ।

वर्षौदेखि चलिआएको यो नियति अहिले पनि जारी छ ।

कर्णालीका निम्ति खरिद गरिएका कतिपय कार्यालयका नयाँ गाडीहरु कर्णालीमा सडक राम्रो छैन भनेर काठमाण्डौंतिरै कुदाउने क्रम पनि रोकिएको छैन । यहाँका निम्ति खरिद गरिएका चामलका कट्ठाहरुसमेत यहाँको माटो छोएर फेरि राजधानीतिरै लाग्छन् भने अरुको कुरा पो के भयो र !

यो पङ्तिकारको कर्णालीमै जन्मिने काम भयो । कर्णालीमै हुर्किने काम पनि भयो । जागिरे जीवनको लामो समय पनि कर्णालीमै विताउने काम भइरहेको छ ।

त्यसकारण कर्णालीका कतिपय कुरा त्यत्तिकै पनि जानकारी छ । अन्यत्रको भन्दा यहाँको मानिसहरुको मृत्युदर पनि बढी छ । अन्यत्रभन्दा यहाँका मानिसहरु कोही सुत्केरी हुन नसकेर मर्छन । कोही सुत्केरी स्याहार नपाएर मर्छन, कोही रोग लागेपछि समयमै स्वास्थ्य उपचार नपाएर मर्छन । कोही कुपोषणले मर्छन । कोही धुमपान लगायतका दुव्र्यसनका कारणले मर्छन । कोही भीरकान्ला र रुखबाट खसरे मर्छन त कोही खोलाखहरे र नदीनालामा डुवेर मर्छन ।

यति धेरै मृत्युका मुखबाट बाँचेपछि पनि कर्णालीका मानिसहरु बाँच्दाबाँच्दै पनि मर्छन । पुरानो कर्णाली अञ्चलका कतिपय जिल्लामा प्लेनबाट आउन र जान पनि कम ताकतले भ्याउदैन । इज्जत र प्रतिष्ठाको हिसावले त्यहाँ पनि पटकपटक मर्नुपछ । कतिपय सेवासुविधा प्राप्त गर्नका लागि समेत पनि कर्णालीबासीले ठूलाबडा र शक्तिमा भएकाहरुसँग रगतमा हात चोवलेर पाउँ पर्नुपर्ने हुन्छ ।

मलाई यस्तो लाग्छ, कर्णालीबासीले हुनेखाने कर्णालीबासी र अन्य गैरकर्णालीबासीका सामू बाँच्नका लागि समेत पटकपटक मर्नुपर्दछ । अर्थात उनीहरुले मरेर पनि बाँच्नुपर्दछ ।

आम कर्णालीबासीहरुले यसरी अपमान सहन गर्नुका पछाडि कारणहरु धेरै छन् । त्यसमा प्रमुख कारण भनेको कर्णालीबासीको अगुवाहरु गतिलो नहुनु हो ।

यहाँका अगुवाहरु एकअर्काका निम्ति कहिल्यै एकाकार हुदैनन् । विधि र नीतिका पछाडि भन्दा पनि व्यक्तिका पछाडि लाग्छन् । सामुहिक आवाज हुदैन उनीहरुको ।

बरु कर्णालीका आवाज भनेर एनजिओ र आइएनजिओहरुले सुनाउने गर्छन विश्वसामु र डलर खाने गर्छन कर्णालीबासीको नाममा ।

बृहत कर्णालीको निम्ति सामुहिक आवाजहरु उठाउने स्वभाव छैन यहाँका अगुवाहरुमा । कसैले त्यसरी आवाज उठाएको अवस्थामा पनि यहाँका मानिसहरुले त्यस्ता आवाजहरुलाई साथ दिने कुरामा समेत नागरिक अनभिज्ञ छन् । किनभने उनीहरुमा चेतना र शिक्षा छैन । कालो अक्षर भैसी बराबर ठान्नेहरु कै संख्या नै यो समयमा समेत करिव तीस प्रतिसत भन्दा बढि छ ।

जव कि वर्षौं भयो ती निरक्षरहरुलाई साक्षर बनाउनका लागि लगानी गर्न थालेको । मलाई त लाग्छ, उनीहरु साक्षर हुन अझै केही वर्ष लाग्नेछ, किनभने उनीहरु साक्षर भइसकेभने उनीहरुको नाममा मागेर खान टाँठाबाठाहरुलाई अप्ठ्यारो पर्नेछ । त्यसकारण पनि उनीहरु साक्षर हुदैनन् । हुदैनन् भन्दा पनि साक्षर बनाइदैन ।

एउटा मात्र दृष्टान्त दिएर भन्नुपर्र्दा कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा राष्ट्रिय परीक्षा बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय स्थापना भएको दुई वर्ष पुग्यो । यसले यस प्रदेशका दशवटा जिल्लाको कक्षा १२ को परीक्षासम्बन्धी काम गर्नुपर्ने हो ।

तथापि अहिले पनि सुर्खेतसँग जोडिएका कर्णाली प्रदेशकै सल्यान र रुकुम पश्चिमका विद्यालयहरु कक्षा १२ को परीक्षासम्बन्धी कामका लागि लुम्विनी प्रदेशमा जाने गर्दछन् । त्यतिमात्र होइन । ग्रेडपद्धतिभन्दा अघि अङ्कन पद्धतिबाट अध्ययन गरेका विद्यार्थीहरुले नामथर र जन्ममिति सच्याउन र सर्टिफिकेटका लागि समेत केन्द्रिय राजधानी जानुपर्छ ।

यस्ता कुरा यहाँका नेताहरुलाई धेरैपटक भनियो तर सुन्दैनन् । नेताहरुले भन्दा त अर्थ हुदैन भने अरु सानातिनाले भन्नुको त कुनै अर्थ नै हुदैन केन्द्रीय राजधानीलाई ।

नेताहरुले नभन्नुमा पनि अर्थ छ, सर्टिफिकेट र नामथर सच्याइदिने नाममा कसैको ठगीधन्दा चलिरहेको छ । नेताहरुको सम्बन्ध भोलाभाला विद्यार्थी र अभिभावकहरुसँग भन्दा पनि त्यस्तै धन्दा गर्नेहरुसँग सुमधुर छ । यस्तो लाग्छ, कर्णालीका करिवदुईप्रतिसत मानिसहरु देशकै टाँठाबाँठा अन्तर्गत पर्दछन् र तिनै टाँठाबाँठाहरुको इशारामा मात्र उनीहरुकै वरिपरि कर्णालीको राजनीतिले वर्षौदेखि फन्को लगाइरहेको छ ।

यो पङितकारले त सपना देखेकोे थियो, देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि अव कर्णालीको अनुहार रफ्तारमा बदलिनेछ ।

त्यसमा पनि दुइतिहाइको सरकार भएपछि त भ्रष्टाचारीहरुका निम्ति कडा कानून ल्याइनेछ । छुवाछुत, छाउपडी, बालविवाहजस्ता सामाजिक कुरीतिहरुलाई शिक्षा र कानून दुवैको माध्यमबाट निमिट्यान्न पारिनेछ ।

गरीवीको रेखामुनि रहेका घरपरिवारको हिसाव राखी त्यस्ता घरपरिवारका निम्ति शिक्षा, स्वास्थ्य लगायतका सवै कुराको सुनिश्चितता गरिनेछ ।

सुकुम्वासी र द्वन्द्वपीडितहरुको उचित व्यवस्थापन हुनेछ । पेशाप्रति प्रतिबद्ध भएर काम गर्ने राष्ट्रसेवकहरु पुरष्कृत र झारा टार्ने हिसावले काम गर्नेहरु दण्डित हुनेछन् ।

कर्णालीको सक्षम जनशक्तिलाई आफ्नै प्रदेशमा आकर्षित गर्नका लागि तदनुसारको वातावरणको सिर्जना गरिनेछ । यस्तै यस्तै धेरै धेरै ।  तथापि डोजर र ठेक्काबाट हुने काम बाहेक अरु केही भएनन् ।

यसरी आँकलन गर्दा मेरा अधिकांश सपनाहरु त मर्छन कि भनेर मलाइ नै डर लागिरहेको छ । मर्न लागिरहेका सपनाहरुलाई मैले पनि छोडेर हिड्नु पर्ने हो । सिनोलाई जुम्रा र उपियाहरुले छोडेझै । तथापि त्यसो गर्न सकिरहेको छंैन । बरु भक्तराज आचार्य गीतमा झै मलाई मेरा हजार सपनाहरुको माया लागेर आउछ ।

म जन्मेको कर्णाली प्रदेशजस्तै मेरो देशको अवस्था पनि त्यस्तै त्यस्तै जस्तो लाग्दैछ ।

यो पाठ कसले कोबाट सिक्यो ? देशबाट कर्णालीले सिक्यो वा कर्णालीबाट देशले ? थाहा छैन । सत्य कुरा के हो भने असल कुरा सिक्नलाई पो असल गुरुको जरुरी पर्छ ।

खराव कुरा त जसले जोबाट सिकेपनि हुन्छ । आज कर्णालीका नागरिक कर्णाली बाहिर जाँदा जसरी हेय र अपमान भोग्नु पर्छ यो देशका नागरिक विदेश जाँदासमेत हविगत त्यही छ । सगरमाथाको उचाइ अलिकति बढेपनि देशको उचाइ भने तुलनात्मक रुपमा धेरै खस्किएझै लाग्दैछ । कर्णालीका नेताहरु झगडा गर्छन ।

केन्द्रीय राजधानीका नेताहरुले बोलाएर थामथुम पार्छन । देशका नेताहरुले आपसका झगडा गर्छन छिमेकी मुलुकका नेताहरु आएर थामथुम पार्छन ।

हविगत यस्तो भएको कारण जसरी कर्णालीलाई केन्द्रले पत्याउदैन, त्यसरी नै यो मुलुकलाई छिमेकीहरुले पत्याउदैनन् । कलहका विषयहरु भिजन र दर्शनका होइनन् । सिद्धान्तका झन हुदै होइनन् । भागवण्डा गर्दा तलमाथि भएको हो । सेवासुविधामा कुरा नमिलेको हो । कानून बदलेर हुन्छ वा अध्यादेश ल्याएर हुन्छ, सत्तामा एकाधिकार प्राप्तिको होडवाजी बाहेक अरु केही देखिदैन देशमा ।

यो पङ्तिकार एउटा प्रत्यक्षदर्शी मात्र हो यस्ता कुराहरुको । यिनीहरुले भागवण्डा गर्दा बीलो पाउने र त्यसकै आशले यिनीहरुको पछिपछि धाउने कार्यकर्ता पनि होइन यो ।

सवैभन्दा ठूलो कुरा,यो देशको भलो चिताउने नागरिक हुँ भन्ने लाग्छ आफुलाई । देशको भलो गर्नका लागि म आफू जहाँ छु, त्यहीबाट सुरुवात गर्न खोजेको पनि हो र प्रयत्न निरन्तर जारी छ । विशेषगरी मैले काम गर्दै आएको शिक्षा क्षेत्रको उन्नयनका लागि आफूले सकेको कतै केही गरियो, कतै केही लेखियो र कतै केही रायसुझाव पनि दिने काम भयो । तथापि कसैले सुन्दैनन् यस्ता कुराहरु ।

सेवासुविधा र कमीसनका कुराहरुमात्र ध्यान दिएर सुन्ने बानी परिसकेको छ माथिकालाई । लाग्छ, नेताहरुको दृष्टि शिक्षा, स्वास्थ्य र सामाजिक सेवालगायतका क्षेत्रतर्फ तान्ने हो भने यस्ता क्षेत्रलाई पनि लिज र ठेक्कापट्टामा दिने कानून बनाउनुपर्छ होला सायद । यत्ति गरिसकेपछि मुलुक नै लिज वा ठेक्कामा दिएर त्यसैबाट आउने कमिसनले बसिबसी खाए त सकिगो त ? सल्लाहकारहरुले अव आफ्ना अन्नदाताहरुलाई यो हिसावले पनि सल्लाह दिने हो कि ? सवैलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं : प्रचण्ड

२०७७, ७ पुष मंगलवार १३:४९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ‘अरू संसदीय […]

सम्बन्धित