सुर्खेत । सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक क्षेत्रमा विस्तारै शिक्षण क्रियाकलापको चहलपहल बढ्न थालेको छ ।
साविक कर्णालीका चार जिल्लाका लागि यो मङ्सिर महिना शैक्षिक सत्रको अन्त्य हो । यो कठोर चिसोमा हिमाली विद्यालय खुल्दा पहाडी, भित्री मधेश र तराईको बालबालिकाका लागि अनुकूलित वातावरण भएपनि त्यहाँका बालबालिकाका लागि भने यो निकै प्रतिकूल समय हो ।
जाडो हुने भएरै नेपाल सरकारले हिमाली जिल्लामा मङ्सिरलाई शैक्षिक सत्रको अन्तिम बनाएर पुस र माघ दुई महिना बिदा दिँदै आइएको थियो ।
कोरोना महामारीले ल्याएको विषम् परिस्थितिका कारण नेपाल सरकारको निर्देशनमा स्थानीय सरकारहरुले विद्यालय खोलेका छन् । यद्यपि, हिमाली जिल्लाका लागि यो याममा विद्यालय खोल्नु बाध्यकारी नै ठानिन्छ ।
मङ्सिर लागेयता कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्लाको न्यूनतम तापक्रम माइनस झरिसकेको छ । यही मङ्सिर ६ गते जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेन्टिग्रेटमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख आशामपुरा कार्कीले जानकारी दिए ।
चिसोले पाइप जमेर घरमा पानीको अभाव हुन थालेको चन्दननाथ नगरपालिका ६ जुम्लाका स्थानीय सम्झना महत बताउँछन् । तर पनि त्यो कठोर जाडोमा यहाँका बालबालिका विद्यालय गएर पढ्न थालेका छन् । चिसोसँग जुधेर पढ्नु उनीहरुको दैनिकी जस्तै बनेको छ ।
यसबाट गरिब परिवारका बालबालिका बढी प्रभावित भएका छन् । चिसोले गाडीको डिजेल पेट्रोल जम्न थालेपछि यातायात व्यवसायीलाई सास्ती हुन थालेको छ ।
यता शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा आधारभूतदेखि मावि तहसम्म अध्ययनरत कूल विद्यार्थी सङ्ख्या पाँच लाख ८२ हजार ११ रहेको जानकारी दिइन ।
जसमा रुकुमपश्चिममा ५४ हजार ८१८, जाजरकोटमा ७८ हजार २००, सल्यानमा ७९ हजार १७४, दैलेख ९७ हजार १८७ र सुर्खेतमा एक लाख १८ हजार १८२ विद्यार्थीलाई एक देखि १२ कक्षासम्म अध्ययन गरिरहेका छन् ।
त्यस्तै साविक कर्णालीको डोल्पामा १० हजार ३८६, हुम्लामा १७ हजार ५६८, मुगुमा २० हजार ७३६, जुम्लामा ३९ हजार ५६० र कालीकोटमा ६६ हजार २८० विद्यार्थी सङ्ख्या रहेको निमित्त निर्देशक हमालले बताइन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले भने अहिले हिमाली जिल्लामा कोरोनाभन्दा कठोर जाडोले रुघा खोकी, दम र निमोनियाका बिरामीहरु बढ्न थालेको बताए ।
यस्तो परिस्थितिमा तीनै तहका सरकारले उनीहरुलाई दुवै जोखिमबाट सुरक्षित राख्ने वैकल्पिक बाटो खोजेर अध्ययन अध्यापनका गतिविधि सञ्चालन गर्न सक्नुपर्दछ ।